PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

तेमालको टेकनपुर : जहाँ फल्थे बुद्धचित्त, अहिले ठडियो डुब्देलिङ गुम्बा



नेत्र तामाङ

तेमालको टेकनपुर : जहाँ फल्थे बुद्धचित्त, अहिले ठडियो डुब्देलिङ गुम्बा

टेकनपुर : तेमाल गाउँपालिका-८ योघरको पुछारमा आइतबार दिउँसो पारिलो घाम लागेको थियो। त्यहीँ ठडिएको गुम्बा वरपर भेटिएका गाउँका प्रमुख लामा रुपसिंह लामा मक्ख देखिन्थे। घाम तापिरहेको गुम्बातिर हेर्दै उनले भने, 'हामीलाई अब धेरै सजिलो हुन्छ।'

१५० घरधुरी रहेको योघर। जहाँ बौद्धमार्गी तामाङ समुदायको बसोबास छ। गुम्बा बौद्धमार्गीको धार्मिक घर हो, जुन पूजापाठका लागि मात्र होइन मर्दापर्दा पनि प्रयोगमा आउँछ।

'छो गर्ने, घेवा गर्ने ठाउँ पनि हुने भो,' रुपसिहं गुम्बाको हलतिर हेर्दै खुसी देखिए।

गुम्बा वरपर बुद्धचित्तका बोट छन्। हिउँद भएकाले ती बोट खङ्ग्रङग सुकेझैं देखिन्थे। 'गुम्बा भएको ठाउँमा पनि पहिले बुद्धचित्तकै बोट थिए,' रुपसिंहले सुनाए।

माथिल्लो तल्लामा योघरकै चलाख घिसिङ मूर्ति बनाउन कालो माटो कुट्दै थिए। छेवैमा कालो माटो बोराका बोरा थुपारिएका थिए। अगाडि ड्रमभरि भिजाएको कालो माटो।

'धडक धडक…' धीरज घिसिङ पनि साथ दिँदै थिए माटो कुट्न। गाउँमा गुम्बा बन्ने भएपछि आफूहरु माटो कुटाइमा खटिएको धीरजले बताए। 'यस्तो ठाउँमा ठूलो गुम्बा बन्दै छ। गुम्बा बनेपछि टुरिस्ट पनि आउँछन् नि,' माटो कुट्दाकुट्दै उनी भन्दै थिए।

मूर्तिकारहरु धमाधम मूर्तिमा माटो थपिरहेका थिए। माथि मेच्छे पौवाको डाँडो देखिन्थ्यो। त्यहीँमाथि बरालिएका सेतो बादलका झुप्पा। ठिक मुनि गुम्बाको तेस्रो तल्लामा राखेका तीन गजुर टलल्ल टल्किँदै थिए।

दाताकै भरमा ठडियो भवन

काठमाडौँ-बर्दिबास जोड्ने बीपी राजमार्गको माम्ती नेपालथोकबाट पाँच किलोमिटर नागबेली घुम्ती उकालो चढेपछि पुगिन्छ योघर। अचेल यो गाउँलाई टेकनपुर भनेर पनि चिनिन्छ। यही गाउँको पुछारमा बन्दै छ- उग्येन पेज्युङ डुब्देलिङ गुम्बा। योघरकै च्याम्पु पाख्रिन र गुञ्जमान दोङले दुई रोपनी १५ आना जग्गा दान दिएपछि २०७७ पुस २० बाट गुम्बा निर्माण सुरु भएको रहेछ। अहिले गुम्बाको मुख्य भवन लगभग तयार भइसकेको छ। 'अब मूर्ति राख्ने र भित्री सजावट बाँकी छ,' गुम्बा निर्माण समितिका अध्यक्ष जगतमान दोङले भने।

गुम्बाका सम्पूर्ण संरचना बन्न करिब दुई करोड ५० लाख लागत अनुमान गरिएको अध्यक्ष दोङले बताए। गुम्बा निर्माणका लागि विभिन्न दाताबाट सहयोग प्राप्त भइरहेको छ। 'देशविदेशमा रहनुभएका दाताहरुकै भरमा गुम्बा ठडिएको छ। धेरै काम अझै बाँकी छन्,' दोङले सुनाए, '८० लाख नगद सहयोगबाटै जम्मा भयो। कतिपय जिन्सी सामान पनि सहयोग पाएका छौं। चार सयभन्दा बढी दाता सहयोगमा संलग्न भइसकेका छन्। खोर्लो, छ्योर्तेन र लामा बस्ने घर बनाउँदा अढाइ करोड नै लाग्छ होला।'

स्थानीय बासिन्दा कुमार दोङ र सिंहमान लामाको चन्दा सहयोगबाट गुम्बा बनाउने काम सुरु गरिएको र अहिले सहयोग आउने क्रम जारी रहेको गुम्बा निर्माण समितिले जनायो। पाँच हजारभन्दा बढी सहयोग गर्ने व्यक्तित्वको नाम गुम्बाको शिलापत्रमा राखिने समितिको भनाइ छ।

निर्माण सकेर भव्य कार्यक्रम

गुम्बाको मुल भवन कम्तीमा ६ महिनादेखि एक वर्षसम्ममा निर्माण पूरा गर्ने लक्ष्य रहेको बताउँछन् समितिका अध्यक्ष दोङ। तिथि मिलाएर मुल भवन उद्घाटन गर्ने उनले बताए। 'तिथि मिलाएर ह्रब्ने गर्ने योजना छ,' उनले भने।

काभ्रेको नमोबुद्ध नगरपालिका हुँदै जाँदा पनि टेकनपुर पुगिन्छ। तेमाल गाउँपालिकाको अन्तिम गाउँ हो यो। सिन्धुली जिल्लासँग सीमा जोडिएको यस स्थानका स्थानीयले तीन दशकअघिबाटै गुम्बाको परिकल्पना गरेका रहेछन्। तर, भौगोलिक विकटता र आर्थिक अभावले योजना पूरा हुन समय लागेको दोङले बताए।

'स्थानीयकै सहयोगमा यो सम्भव भएको हो। व्यवस्थित गुम्बा थिएन। गाउँका दाइहरुले तीन दशकअघिदेखि योजना बनाउनुभएको थियो। जुन योजना पूरा हुन सकेको थिएन,' दोङले भने।

यसो त नमोबुद्धमा राजा ह्रिन्जेन दोर्जेको पुरानो दरबार भएर जाँदा गुरु रिम्पोछेको तमोभूमि हुँदै यहाँ पुग्न सकिन्छ। गुरु रिम्पोछेले साधना गरेको यारीनागमा यहाँ दैनिक सयौं पर्यटक पुग्ने गर्छन्। यहाँबाट डम्फूपार्क हुँदै टेकनपुरको उग्येन पेज्युङ डुब्देलिङ गुम्बा पुग्न सकिन्छ।

'तेमाल गुरु रिम्पोछेको तपोभूमि हो। गुरुको स्थान भएकाले पनि हामीले सामाजिक समस्या र सवाल जोडेर लानका लागि गुम्बा निर्माण थालेका हौ,' अध्यक्ष दोङले भने।

गुम्बालाई पूजा, प्रार्थनामात्र गर्ने स्थलका साथै शैक्षिक केन्द्र र स्वास्थ्य केन्द्रको रूपमा विकास योजना रहेको समितिले जनाएको छ। 'गाउँमा पूजापाठ गर्नु राम्रो हो। तर यहाँ कहिलेकाहीँ सिटामोल पाउन पनि मुस्किल हुन्छ। त्यसैले गुम्बामा कम्तीमा सामान्य स्वास्थ्य सेवाको सुविधा पनि होस् भन्ने हाम्रो योजना छ,' काठमाडौं फर्किँदै गर्दा अध्यक्ष दोङले थप योजना सुनाए।

गुम्बा निर्माण चलिरहेकै बेला आइतबार बौद्ध गुरु कारसाङ लामा काठमाडौंबाट पुगेका थिए। विकट स्थानमा यस्तो गुम्बा बन्नु महत्वपूर्ण र पुण्यको काम भएको उनले बताए। 'मनले सोचेर, वचनले भनेर, कर्मले गरेर नै हो बन्ने। यस्तो ठाउँमा गुम्बा बनाउनु धेरै पुण्यको कुरा हो,' गुरुले भने, 'गाउँलेको सहयोग अझै धेरै राम्रो हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell