
नोभाक जोकोभिचले आफू भ्याक्सिन लगाउन तयार नभएको बताएका छन्। अस्ट्रेलियन ओपन खेल्न नपाई देश निकाला गरिएका उनले आफूले भविष्यमा हुने प्रतियोगिता गुमाए पनि भ्याक्सिन नलगाउने बताएका हुन्।
बीबीसीसँगको कुराकानीमा उनले आफूलाई ‘एन्टी भ्याक्सिन मूभमेन्ट’ सँग आफूलाई नजोड्न आग्रह गरेका छन्। तर, भ्याक्सिन लगाउने वा नलगाउने भन्ने विषय व्यक्तिको अधिकार भएको तर्क गरेका छन्।
भ्याक्सिनलाई लिएर उनको अडानका कारण विम्वेलडन, फ्रेन्च ओपन लगायतका प्रतियोगिता गुमाउन पर्ने विषयमा प्रश्न सोध्दा उनले भने, ‘ त्यो मूल्य म चुकाउन तयार छु।’
वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्न अस्ट्रेलिया पुगेका जोकोभिचलाई खोप नलगाएका कारण ‘देश निकाला’ गरिएको थियो। कोभिड १९ विरुद्धको खोप नलगाइ अस्ट्रेलिया पुगेका जोकोभिचको भिसा अस्ट्रेलियन सरकारले दुई पटक रद्द गरेको थियो। उक्त कारवाहीको विरुद्ध जोकोभिचले अदालतमा दायर गरेको निवेदनमा भएको सुनुवाइमा अदालतले सरकारले गरेको कारवाहीलाई सदर गर्ने फैसला गरेको थियो। जसकारण उनले अस्ट्रेलियन ओपन खेल्न पाएनन्।
९ पटक अस्ट्रेलियन ओपन जितिसकेका जोकोभिच यसपटकको प्रतियोगितामा आफ्नो उपाधीको प्रतिरक्षा गर्दै २१ पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बन्ने तयारीमा थिए। तर, अदालतको निर्णयसँगै उनको सपना टुटेको थियो।
उता, फ्रान्सले पनि खोप अनिवार्य गरेसँगै फेन्च ओपनमा पनि उनको सहभागिता नहुने सम्भावना बढेको छ। जोकोभिचलाई फ्रान्सको खेलकुद मन्त्रालयले पनि फ्रेन्च ओपनमा सहभागी नगराउने जनाएको रोयटर्समा उल्लेख छ।
फ्रान्सको संसदले नयाँ खोप कानुन पारित गरेको थियो। जसअनुसार सार्वजनिक स्थल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ। खोपको कानुनको उक्त व्यवस्था खेलाडी तथा दर्शक दुबैका लागि लागि हुने जनाइएको छ।
जोकोभिचले आफू भयाक्सिनको विरोधी नभएको तर आफ्नो शरीरको लागि के ठिक भनेर छनोट गर्न अधिकार व्यक्तिमा निहित हुने बताएका छन्।
उनले केही प्रतियोगितामा भ्याक्सिनको नियम परिवर्तन हुनेमा आफू आशावादी रहेको समेत बताएका छन्।
‘मेरो शरीरको लागि निर्णय लिनु कुनै पनि प्रतियोगिताको उपाधि भन्दा मेरो लागि ठूलो कुरा हो’ उनले भनेका छन्।