
'ड्रेसअप म्याटर्स!' मानिसको पृष्ठभूमि जस्तोसुकै भएपनि सुकिलो कपडा लगाए जो कोही पनि सम्पन्न देखिन सक्छ। यसको ज्वलन्त उदाहरण बनेका छन् भारतको केरलाका ६० वर्षीय मजदुर।
दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका यी मजदुरको एक फोटोसुटले उनको भाग्य चम्किएको छ। 'स्विश मेकओभर'को साथ देखिएका उनका फोटोहरु अनलाइनमा भाइरल भइरहेका छन्।
केरलाको कोझिकोड जिल्लाका मम्मिक्काले स्थानीय ब्रान्डको लागि पोज दिँदा आफ्नो दैनिक पहिरन लुङ्गी र शर्टको सट्टा सुट र सनग्लास लगाए। मम्मिक्काका ती फोटोहरु फोटोग्राफर शरिक वायालिलले खिचेका हुन्। एक सफल मोडल सरह देखिएका उनका फोटोहरु अनलाइनमा भाइरल भए। हजारौं मानिसहरूले यी नयाँ मोडलको निकै प्रशंसा पनि गरेका छन्।
मम्मिक्काले आफ्नो नयाँ 'फेम'को श्रेय फोटोग्राफर वायालिललाई दिएका छन्। मनोरमा न्युजका अनुसार वायालिलले यसअघि मम्मिक्काको फोटो खिचेर आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए। ती मजदुरको फोटो अभिनेता विनायकनसँग मिल्दोजुल्दो रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो।
त्यसलगत्तै, वायालिलले मम्मिक्कालाई आफ्नो विवाहको तस्विर खिच्ने कम्पनीको लागि मोडलिङ गर्न आग्रह गरे। फोटो शुट गर्नुअघि उनले ६० वर्षीय वृद्धको हुलिया नै परिवर्तन गरिदिए। र, त्यसको भिडियो बनाएर इन्स्टाग्राममा पोस्ट गरे। सो भिडियो अहिले हजारौं मानिसहरूले हेरिसकेका छन्।
आफ्नो कम्पनीको लागि मम्मिक्का भन्दा उपयुक्त मोडल कोही नभएको फोटोग्राफर वायालिल बताउँछन्। फोटो सुटका तस्बिरहरूले पनि उनको यो कुरालाई प्रमाणित गरेको छ। तस्बिरहरूमा ममिक्काले क्लासिक ब्लेजर र पाइन्ट लगाएका छन् भने हातमा आईप्याड लिएको देखिएको छ।
न्युज१८ का अनुसार मम्मिक्काले अब आफू दैनिक ज्यालादारीको नियमित जागिरसँगै मोडलिङ गर्ने प्रयास पनि गर्ने बताउँछन्।