PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

भोलि संसदमा एमसीसी पेश हुने देउवाको विश्वास, भने : कांग्रेस आफ्नो कर्तव्यबाट च्यूत हुँदैन



पहिलोपोस्ट

भोलि संसदमा एमसीसी पेश हुने देउवाको विश्वास, भने : कांग्रेस आफ्नो कर्तव्यबाट च्यूत हुँदैन

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले कांग्रेससँगै सबै दलको सहयोगमा एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गरेको कांग्रेस महामन्त्री तथा सांसाद गगनकुमार थापाले जानकारी दिए।

प्रधानमन्त्री देउवाले बैठकमा कांग्रेस सरकारमा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को विचार व्यक्त गर्ने दल नभएको पनि बताएका थिए।

‘त्यसो गर्दा हामी अरू दलभन्दा फरक हुँदैनौं। यसको क्षणिक लाभहानी होला भनेर कांग्रेस आफ्नो कर्तव्यबाट च्यूत हुँदैन,’ देउवाले भनेका थिए।

‘ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको एमसीसी प्रस्ताव पारित गर्नुपर्‍यो भनेर हामी भनिरहेका छौँ। तर, त्यही दलका प्रमुख सचेतक विशाल भट्टराईले अहिले संसदबाट एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ भन्ने कुराले मलाई उदेक लागेको छ,’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री थापाले भने। 

प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेको आधारमा भोलि फागुन ४ गते बस्‍ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्बन्धी प्रस्ताव टेबल हुने विश्वास व्यक्त गरेका हुन्। आजको बैठकले एमसीसी सम्बन्धी प्रस्ताव तत्काल संसद्मा टेबल गरेर अनुमोदन प्रक्रिया अघि बढाउन माग गर्ने निर्णय गरेको छ। साथै बैठकले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल सो प्रस्तावको पक्षमा उभिने विश्वास व्यक्त गरेको महामन्त्री थापाले बताए।

बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नका लागि कांग्रेसले हस्ताक्षरकर्ता बाहेक अन्य दलसँग संवाद र अनुरोध गर्ने निष्कर्ष निकालेको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदहरुले आइतवार जबराविरुद्ध महाअभियोग संसद्मा दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell