PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एघारौँ चरणको पहिलो दिनको खेल : पुछारका चार टोलीलाई एक-एक अंक



पहिलोपोस्ट

एघारौँ चरणको पहिलो दिनको खेल : पुछारका चार टोलीलाई एक-एक अंक
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुवै खेल बराबरीमा रोकिएको छ।

‘रेलिगेशन ब्याटल’मा महत्वपूर्ण खेलको रुपमा हेरिएको आजको दुवै खेल बराबरीमा रोकिए। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लब तथा दशरथ रंगशालामा च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब बिचको खेल बराबरीमा रोकिएको हो।

फ्रेन्ड्स क्लबको उत्कृष्ट पुनरागमन

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा फ्रेन्ड्स क्लब जावलाखेल युथ क्लबसँग ३-३ को बराबरीमा रोकियो।

खेलको १२औँ मिनेटमा लोइक जिमी कुवाहिमको गोलमा अग्रता बनाएको जावलाखेलका लागि दोस्रो गोल पनि ४० औँ मिनेटमा उनैले गरे।

त्यस्तै, पहिलो हाफको अन्तिम मिनेटमा जावलाखेलले अर्को गोल थप्यो। ४५औँ मिनेटमा रुपबहादुर लामाले गोल गरे।

यता, फ्रेन्ड्स क्लबका लागि नाथनिय जुड ग्रासियाले पहिलो हाफको इन्ज्युरी समयमा खाता खोले। दोस्रो हाफमा फेरि ग्रासियाले अर्को गोल थपे। उनले खेलको ६९औँ मिनेटमा गोल गर्दा इन्ज्युरी समयमा जमउल एन्थोनी फ्रान्कोइसले गोल गर्दा फ्रेन्ड्स क्लबले फुत्किसकेको अंक जावलाखेलसँग खोस्न सफल भयो।

च्यासल र ब्रिगेड ब्वाइजको गोलरहित बराबरी

यता दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइजले गोलरहित बराबरीमा खेल सकियो। रेलिगेशन क्षेत्रबाट माथि उक्लन संघर्षरत यी दुई क्लब बिचको खेलमा दबाब भने देखिएन।

दुवै टोलीले खासै उत्कृष्ट अवसरहरु त बनाएनन् नै बनेका अवसरमा पनि फिनिसिङ बिर्सन लायक थिए।

अंकतालिकाको पुछारका चार टोलीलाई १/१ अंक

आजको खेलसँगै अंक तालिकाको पुछारमा रहेका चार टोलीले एक/एक अंक जोडेका छन्। आजको खेलमा जित निकाले रेलिगेशनको जोखिमबाट ठूलो राहत मिल्ने भए पनि चारवटै टीम यसमा असफल रहे।

आजको खेलसँगै ११ औं स्थानमा रहेको जावलाखेलले १० अंक, १२औँ स्थानमा रहेको फ्रेन्ड्स क्लब र १३औँ स्थानमा रहेको ब्रिगेड ब्वाइजले समान ७ अंक जोड्दा तालिकाको पुछारमा रहेको च्यासलले ६ अंक जोडेको छ।

प्रशिक्षकलाई रेलिगेशनको दबाब

खेलपछि च्यासल युथ क्लबका प्रशिक्षक लेइज मनसनले राम्रो खेल देखाउन नसक्दा नतिजा राम्रो नआएको बताए।

‘म अलि खुशी छैन पनि। हामीले बल कन्ट्रोल गर्न सकेनौँ, जसरी मछिन्द्रसँग सकेका थियौँ। यो राम्रो खेल भएन’, उनले अगाडि भने, ‘फ्रेन्ड्सले पनि ड्र खेलेको छ। अर्को खेलमा हामी उनीहरुसँग खेल्नेछौँ। खेल सुधारेर ए डिभिजनमा रहन चाहन्छौँ। अझै हाम्रो हातमा छ। हामीले फ्रेन्ड्स क्लबलाई हरायौँ भने माथि जान्छौँ।’

उता ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले तीन अंकको लक्ष्य लिएर आएको भए पनि एक अंकमा चित्त बुझाउनु परेको प्रतिकृया दिए।

‘आजको म्याचमा ३ अंकको लक्ष्य थियो। ड्र हुन पुग्यो। रेलिगेशनको रेड जोनमै छौँ’, उनले रेलिगेशनको सम्भावना बारे भने, ‘पछिल्लो म्याच फ्रेन्ड्स क्लबसँग राम्रो भएको भए बच्ने सम्भावना धेरै थियो। आज जितेको भए अलि सजिलो हुने थियो। जे पनि हुन सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell