PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

अश्लील बोलीले भाइरल मन्त्री आले बने ट्रोलका सिकार : दाँजियो भिटेनदेखि साकारसम्म



पहिलोपोस्ट

अश्लील बोलीले भाइरल मन्त्री आले बने ट्रोलका सिकार : दाँजियो भिटेनदेखि साकारसम्म

काठमाडौं : सामाजिक सञ्जालमा मंगलवार बिहानैबाट भाइरल भयो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको भिडियो। भिडियोमा जगत ओलीसँग बाझाबाझ  गरेका आलेको संवाद अश्लील भएकै कारण एकैछिनमा भाइरल बन्यो।

भिडियो भाइरल भएसँगै मन्त्री आलेको नैतिकतामाथि प्रश्न उठ्न थालेको छ भने सामाजिक सञ्जालमा बन्न थालेका छन् मिम र ट्रोलहरु। आलेलाई अश्लील शब्द प्रयोग गरी चर्चामा आएका र्‍यापरहरुसँग सामाजिक सञ्जाल प्रयोगकर्ताले दाँजेका छन्।

एक प्रयोगकर्ताले र्‍यापर समीर घिसिङ 'भिटेन'सँग आलेको तुलना गरेका छन्। अपाच्य शब्द राखेर र्‍यापमा चर्चा कमाउने भिटेनको 'प्रोम्याक्स' मन्त्री आले भएको उनको ट्रोलमा उल्लेख छ।

यसैगरी एक प्रयोगकर्ताले हालै चर्चामा आएका र्‍यापर जिबबसँग मन्त्री आलेलाई दाँजेका छन्।

 

लेट्स् ब्याटल बिगन क्याप्सनमा बसन्त घिमिरेले जिबब र मन्त्री आलेको फोटो एकैसाथ राख्दै यसो भनेका हुन्।

अश्लील बोल्ने र्‍यापर साकारसँग पनि दाँजिएको छ मन्त्रीसँग। साकार 'प्रो म्याक्स'का रुपमा मन्त्री आलेलाई दाँजिएको फोटो एमआरआर भर्सेस डब्लुआरआर रिलोडेड रुममा राखिएको छ।

यता ट्वीटरमा एक प्रयोगकर्ताले एमसीसीसँग जोडेर मन्त्री आलेमाथि ट्रोल गरेका छन्। 'पटक-पटक एमसीसी भनिरहेका प्रेम आलेको फोन अडियोलाई विरोधी साइबर सेनाले अन्तिम पटकको सी काटेर, काटिएको अडियो सार्वजनिक गरेर बदनाम गर्न खोजेछन्। सोझो मान्छेलाई फसाउन खोजेको यो कुरा धेरैजसो नेपाली जनताले बुझेका छन्,' उक्त ट्वीटमा भनिएको छ।

 

यसैगरी विप्लव खत्री नामक प्रयोगकर्ताले ट्वीटरमा मन्त्री आलेले संस्कृति जोगाएको दाबी गर्दै व्यङ्ग्य गरेका छन्। 'प्रेम आले भनेको संस्कृति मन्त्री हुन्। उनको काम भनेकै संस्कृति जोगाउने हो। उनले प्रयोग गरेका ती शब्दहरु ठेट नेपाली शब्दहरु हुन्। जुन नेपालीको परम्परा हो,' ट्वीट्मा भनिएको छ, 'विदेशी गालीले वर्चश्व जमाएर हराएको हाम्रो नेपाली गाली उहाँले फेरि मार्केटमा ल्याउने हिम्मत गर्नुभो।'

 

हिजोमात्र प्रेम दिवस थियो – यसै प्रसंगलाई जोड्दै मिम पोखरामा भनिएको छ - 'प्रेमदिवस" को भोलिपल्ट 'प्रेम आले दिवस' को शुभकामना।

मिम पोखरामै अर्को ट्रोल छ – मोटरसाइकल चढ्दै गरेका मन्त्री आले।

मिनिस्टरआले हेडिङ टु मुम्बई, अँधेरी लेखिएको उक्त ट्रोल पनि मिम पोखरामै पोस्ट गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell