काठमाडौँः सोमबार प्रहरीले बौद्धबाट बरामद गरेको प्रतिवन्धित पदार्थ 'युरेनियम'को ३५ करोड रुपैयाँमा बिक्री हुन लागेको प्रहरीले जानकारी दिएको छ।
महानगरीय प्रहरी वृत बौद्ध टोलीले सोमबार राति हयात होटेलबाट ८ जनालाई नियन्त्रणमा लिएको हो। काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित ह्यायत रिजेन्सी होटल काठमाडौँको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको कारबाट युरेनियम भनिएको पदार्थ बरामद गरेको हो। बा ५ च८२०९ नं. को कारभित्रबाट २ केजी ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थ भेटिएको थियो।
प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भएका भुपेन्द्रबहादुर खड्का र ललितपुर महानगरपालिका १४ का नवराज महतलाई नियन्त्रणा लिएर अनुसन्धान गर्दा उक्त युरोनियम जस्तो देखिने पदार्थ उनीहरुले भारतबाट ल्याई प्रति किलो पैँतीस करोडमा बिक्री गर्न लागेको खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।
प्रहरहीले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका रामकृष्ण लामिछाने,सिराहाका गोपीलाल दास,जीवछ नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएकका उपेन्द्रकुमार मिश्र र भारत घर भएका राजु ठाकुरलाई नियन्त्रणमा लिएको हो।
यसअघि २०७७ फागुनमा प्रहरीले बौद्बाट नै चार जनालाई युरेनियमको कारोबार गरेको भन्दै पक्राउ गरेको थियो।
काठमाडौँ जिल्ला अदालतबाट ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्धामा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।