PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिनेमा हल खुले तर छैनन् दर्शक



लक्ष्मी बलायर

सिनेमा हल खुले तर छैनन् दर्शक

काठमाडौँः कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा फागुन १ गतेबाट खुलेका छन्। हल खुलेसँगै प्रदर्शनकै बेला रोकिएका दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ ले दोस्रो मौका पाए। त्यससँगै अभिनेता रवि तेजा अभिनीत दक्षिण भारतीय फिल्म 'खिलाडी' र हलिउड फिल्म 'द किंग्स म्यान' पनि प्रदर्शनमा आए। साथै सुपर हिरो फिल्म 'स्पाइडर म्यान- नो वे होम' ले पनि फेरि रिलिज हुने मौका पायो।

ओमोक्रन भेरियन्टले संक्रमितको संख्या ह्वातै बढे तापनि गम्भीर बिरामीको संख्या भने पहिलो र दोस्रो लहरभन्दा कम छ। साथै सरकारले पनि खोप अभियानलाई तीव्रता दिएपछि सर्वसाधारणले केही राहत महसुस गरे। जस कारण सबैको आशा थियो: अब अवस्था पहिलेझैँ सामान्य हुन्छ।

हल सञ्चालक पनि सिनेमा हल खुलेसँगै दर्शक आउनेमा आशावादी नै थिए। तर अपेक्षा अनुसार उपत्यकाका हलहरूमा दर्शकहरूको संख्या भने न्यून रहेको छ।

सुन्धारास्थित सिभील मलको 'क्युएफएक्स सिनेमा' मा पुग्दा दर्शकहरूको उपस्थिति फाट्टफुट्ट देखिन्थ्यो। अरू बेला भरिभराउ हुने हलमा खासै माहोल थिएन।

आइतबारदेखि हल खुलेता पनि दर्शक आउन नसकेको सिभील मल, क्युएफएक्स सिनेमाका म्यानेजर सुशील मानन्धरले बताए।

कोरोनाको तेस्रो लहरअघि दर्शकको संख्या राम्रो भए पनि अहिले माहोल बन्न नसकेको मानन्धर बताउँछन्।

'कोरोनाको तेस्रो लहर सुरु हुनुअघि सिनेमा हलमा दर्शक आउने माहोल बनिसकेको थियो। तर फेरि हल बन्द हुँदा माहोल बन्न अलि समय लाग्छ। कतिपयलाई हल खुलेको छ भन्ने थाहा नहुन पनि सक्छ। अपेक्षाअनुसार दर्शक छैनन्,' उनले भने।

उनका अनुसार नेपालीलगायत हलिउड र बलिउड फिल्महरूले दिनमा दुइटा/दुइटा शो पाएका छन्। र,सबै फिल्महरुको शोमा २० देखि ३० जनासम्म मात्रै दर्शक आएको उनी बताउँछन्। क्युएफएक्स मल्टिप्लेक्स चेनका अन्य हलहरूमा पनि दर्शकहरूको संख्या न्यून नै रहेको छ।

कमलादीस्थित राइजिङ मलमा रहेको हल 'क्युज सिनेमाज'मा पनि दर्शकको खडेरी नै लागेको छ। भर्खरै सिनेमा हल खुलेको भएर दर्शक खासै नभएको सिनेमाका इञ्चार्ज अभिषेक थपलियाले जानकारी दिए।

'साउथको नयाँ फिल्ममा पनि खासै दर्शक छैनन्। दर्शक ठूलो फिल्मको पर्खाइमा छन्। दर्शक नभएर आज फिल्म 'चपली हाइट ३' एक शो नै क्यानसिल भयो। एक शो'मा ३ देखि १० जना मात्रै दर्शक आउँछन्', थपलिया बताउँछन्।

साथै पूजा शर्मा र पल शाह अभिनीत 'म यस्तो गीत गाउँछु २' ले भने माहोल बनाउनेमा आशावादी देखिन्छन् उनी।

त्यसैगरि सुन्धाराकै सीटीसी मलमा रहेको 'सीडीसी सिनेमाज'को पनि हालत उस्तै छ। सीडीसी सिनेमाका हल व्यवस्थापक जीवन शाक्यले दर्शकहरूको संख्या निराशाजनक रहेको बताए।

भन्छन् 'दर्शकहरूको संख्या ज्यादै न्यून छ। साउथ फिल्म 'खिलाडी' ले माहोल बनाउँला भन्ने आश थियो। तर आशाअनुसारको माहोल भने तताउन सकेन। नेपालीलगायत सबै फिल्महरूलाई तीन वटा शो पाएका छन्। तर सबै फिल्महरूमा फाट्टफुट्ट मात्रै दर्शक छन्।'

अहिले माहोल नबने पनि 'म यस्तो गीत गाउँछु २' ले दर्शक फर्काउन सहयोग गर्ने उनको भनाई छ।

चाबहिलमा रहेको एफक्युब सिनेमामा पनि हल खुले तापनि दर्शकको संख्या न्यून रहेको व्यवस्थापक रामहरि कोइरालाले जानकारी दिए।

उनले भने, 'रवि तेजाको फिल्म 'खिलाडी'मा ३० देखि ४० प्रतिशतसम्म दर्शक हुनुहुन्छ। अरू फिल्ममा भने ३ जनादेखि १० जना मात्रै हुनुपर्छ।'

एफक्युबमा साउथ फिल्म खिलाडीले ४ वटा शो पाए पनि अन्य फिल्महरूले भने २ वटा शो पाएका छन्। कोइराला बलिउड फिल्म 'गंगुबाई काठियावाडी' प्रदर्शनमा आएपछि सिनेमा हलमा दर्शक आउनेमा ढुक्क छन्।

त्यसैगरि अल्लु अर्जुन अभिनीत फिल्म 'पुष्पा: द राइज' सम्पूर्ण हलहरूबाट हटिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell