PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

डाँगी प्रकरणमा आलोचना खेपेपछि एन्फाको तर्क : डाक्टर राखेका थियौं, शौचालय गएछन्



मुकुन्द घिमिरे

डाँगी प्रकरणमा आलोचना खेपेपछि एन्फाको तर्क : डाक्टर राखेका थियौं, शौचालय गएछन्
एनआरटीविरुद्धको खेलमा बल अघि बढाउँदै मनिष डाँगी (सेतो जर्सी २१)। फाइल फोटो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल चलिरहँदा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मछिन्द्रका खेलाडी मनिष डाँगीले गम्भीर चोट बोक्न पुगे। खेलको ६५ औं मिनेटमा उनी मैदानमा यान्निक केच्चासँग ठोक्किएपछि मैदानमै ढलेर बेहोस भएका थिए। त्यहीँ उपचार दिएर उनलाई ब्लुक्रस अस्पताल लगिएको थियो।

त्यो खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले रंगशालामा डाक्टर नराखेको भन्दै एन्फाको आलोचनासमेत गरेका थिए। उनले मनिष मैदानमा ढल्दा डाक्टर नहुनु दु:खद भएको भन्दै आक्रोश पोखेका थिए। यस प्रकरणपछि आलोचना गर्ने उनीमात्र होइनन्। एन्फाको लापारबाहीलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।

फिफाको प्रतिबन्ध बेहोरिरहेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले पनि एउटा भिडियो जारी गर्दै आलोचना एन्फाको आलोचना गरे। 'मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी दशरथ रंगशालामा मछिन्द्र क्लब र च्यासल युथ क्लबको बीचमा भएको खेलमा बेहोश भए। दुवै टिमका खेलाडीहरु अत्यन्त आत्तिँदै डाक्टर डाक्टर भनेर कराइरहेको र केही खेलाडीहरु रोएको हृदयविदारक दृश्य पनि देखिन्थ्यो,' थापाले फेसबुकमा लेखेका छन्, 'दुर्भाग्यका साथ भन्नुपर्दछ त्यसबेलामा खेल मैदानमा डाक्टरको उपस्थिति थिएन। योभन्दा ठूलो लापरबाही एन्फाको के हुन सक्दछ?'

यो ठूलो घटना भएको भन्दै उनले भिडियोमा मिडिया, राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले सामान्यीकरण गर्न नहुने तर्क गरेका छन्।

'हामीलाई लागिरहेको थियो त्यो ठूलो दुर्घटना थियो। त्यो बेला खेलाडीहरु डाक्टर... एम्बुलेन्स भनेर कराइरहेका थिए। त्यहाँ डाक्टर थिएनन्,' उनले भने, '९ मिनेटमा फिजियो र दुई जना विदेशी खेलाडीको अथक प्रयासमा मनिष होसमा आए। उहाँहरुले ठूलो दुर्घटना हुनबाट बचाउनुभयो ।'

एउटा डाक्टर पनि नराखी खेल सञ्चालन गर्नु हुन्छ? भन्दै उनले प्रश्न पनि गरेका छन्।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने डाक्टर राखेको भन्दै आवश्यक परे थापाको जवाफ पनि दिने बताएका छन्।

यता एन्फाले डाँगी प्रकरणबारे जानकारी दिन सोमवार पत्रकार सम्मेलन बोलाएको थियो। पत्रकार त्यहाँ उपस्थित भए पनि एन्फाका पदाधिकारीको अत्तोपत्तो थिएन। फेरि मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फा महासचिव तुलाधरले खेलाडीको सुरक्षालाई लिएर एन्फा सतर्क रहेको दाबी गरे। 'अस्तिको घटनामा डाक्टर छैन भन्ने कुरा आयो। खेलाडीको सुरक्षालाई एन्फाले महत्व दिएको छ। ए डिभिजन खेल्ने खेलाडीलाई बिमालगायत स्वास्थ्य जाँच गराएका छौं। पूरा इक्विप्ड दुईवटा एम्बुलेन्स थियो,' महासचिव तुलाधरले भने, 'ग्राउण्डमा डाक्टर र एसिस्टेन्ट रहन्छन्। टिममा फिजियो छन्।'

उनले डाक्टर राख्नका लागि फिफाले पारदर्शिता चाहिने भनेपछि टेन्डरमार्फत इशारा भन्ने संस्थालाई जिम्मेवारी दिएको बताए।

'प्लेयरलाई मनिषको जस्तो र इरिक्सनको केस जस्तोमा डाक्टर सिधै मैदान प्रवेश गर्न सक्ने नियम छ। २१ सेकेन्डमा मेडिकल स्टाफहरु प्रवेश गरेको पाएका थियौं,' उनले दाबी गरे, 'यसमा एन्फा चुकेको अवस्था छैन। इशारासँग पनि सोधिरहेका थियौं। हामी निरन्तर खेलाडी र क्लबसँग समन्वयमा छौं।'

लिगका संयोजक विज्ञानराज शर्माले भएका कमीकमजोरीको नैतिक जिम्मेवारी लिने बताउँदै मेडिकल किटबिना मेडिकल टिम मैदान पस्दा चिन्न कठिन भएको बताए।

त्यो दिन के भएको थियो?
मनिष ढलेपछि सुरुमा मैदान पुगेकी थिइन् फिजियो थेपारापिस्ट नवीना वैद्य श्रेष्ठ।

न्युरोमा स्पेसालिटी भएको र पाँच वर्ष डा. उपेन्द्र देवकोटासँग काम गरेको बताउने उनले मनिषको केसमा सुरुमै केस पहिचान गर्न सकेको बताइन्। 'यो सिभियर इन्ज्युरीमा पर्छ। फिजयो सुरज भुसाल पस्नेबित्तिकै म पनि मैदान प्रवेश गरेकी थिएँ। यो हेड इन्ज्युरीमा छाला, खप्पर या ब्रेन इन्ज्युरी हो। सिभियर हो भने ब्याक पोस्टरमा जाने गर्छ। माइनर भए बिरामी होसमै हुन्छ। हेर्नेबितिक्कै सिभियर हेड इन्ज्युरी भन्ने छुट्याएका थियौं,' उनले भनिन्, 'खेलाडीसँग टाउको ठोक्कियो र मैदानमा पनि ठोक्किएपछि टाउको फुटेको हो।'

उनले त्यसपछिका चरणहरुबारे जानकारी दिँदै मनिषको नाक, कान या आँखाबाट 'फ्लुड' नआएको बताइन्।

'उत्तानो पारेर उसलाई राख्यौं। यस्तोमा पिसाब कन्ट्रोल गर्न नसकेर पास हुन्छ। उनको त्यो थिएन। तर रेस्पोन्स गर्न सकेको थिएन। आँखा पनि खोलेको थिएन। हातखुट्टा सिधा थियो,' उनले भनिन्, 'अपोनेन्ट खेलाडीले मुख खोल्दिनुभयो। उसले टोकिरहेको थियो। जीरो पल्स भयो भने सीपीआर दिन सकिन्छ। उनले सीपीआर दिँदा रोकेनौं।'  त्यसको तीन मिनेटमा मनिष होसमा आएको उनले बताइन्। उनका अनुसार त्यसपछि मनिषले 'मैले खेलेको थिएँ र' भन्ने प्रकारका प्रश्न सोधेका थिए।

न्युरो आफ्नो स्पेसालिटी भएको दोहोर्‍याउँदै उनले भनिन्, 'हामीले ट्रान्सफर गर्दा प्लेयर होसमा थियो। एम्बुलेन्समा राख्दा राम्ररी होसमा आयो।'

त्यसपछि समय, सन्दर्भ र व्यक्तिबारे प्रश्न गर्दा मनिषले खेल खेलेकै थाहा नभएको बताएको उनलाई उदृत गर्दै वैद्यले बताइन्। 'गेम खेलेको थाहा छैन भन्यो। इमिडिएट मेमोरी रहेनछ। हस्पिटलमा पुग्दा सबै ठीक भइसकेको थियो,' उनले भनिन्, 'कार्डियोबाट पनि सबै ठीक आयो। हालको स्टाटस हेर्ने हो भने 'ब्रेन रुल्स' पनि ठीक छ।' थप एउटा जाँच गर्ने र 'न्युरोलोजिकल एक्जाम' राम्रो भए मनिषले खेल्न सक्ने उनले बताइन्।

फेरि प्रश्न- एन्फाले राखेको डाक्टर खै?
डाक्टरको सन्दर्भमा एन्फाले गोलमटोल जवाफ दिएको छ। वैद्यले त्यतिबेला उनलाई जानकारी दिएर डाक्टर शौचालय गएको बताइन्।

'डाक्टर ट्वाइलेट जानुभएको थियो, इन्फर्म गरेरै। यो ब्याडलक या एक्सिडेन्ट भनौं। नभनी जानुभएको भए अर्को कुरा हुन्थ्यो,' बचाउमा उनले भनिन्, 'डाक्टर भएको भए राम्रो हुन्थ्यो।'

यसमा महासचिव इन्द्रमान तुलाधरले कमजोरी स्विकारे पनि डाक्टरै नराखी लिग गराएको भन्ने कुरा सत्य नभएको दाबी गरिरहे। 'डाक्टर नै नराखी लिग गराएको होइन। घटना हुँदा समयमा डाक्टर पुगेन भन्नेमात्र हो,' उनले भने, 'यसमा संवेदनशील छौं। कमजोरी भएको जति दोष एन्फा लिन तयार छ। तर हस्पिटल लैजाँदा वहाँ (डाक्टर) हुनुहुन्छ। त्यसमा सुधार गर्छौं।' फिफाले गाइड गरेबमोजिम डाक्टर राखेको उनको भनाइ छ।

घटनामा उपस्थित नहुने डाक्टरलाई के हुन्छ?
एन्फा महासचिव तुलाधरले डाक्टरको सम्झौता इशारासँग भएकाले डाक्टरलाई नभएर इशारालाई पत्र पठाइएको बताए। जानकारी दिएर हिँडेको भन्दै डाक्टरमाथि भने 'सफ्ट कर्नर' दिए।

'हामीले इशारालाई लेखेका छौं। बुधबारसम्मको डेडलाइन दिएका छौं। यसले अब इशारासँग करार रिन्यु गर्ने नगर्ने भन्ने कुरा पनि आउँछ। सिधै डाक्टरलाई सोधेको छैनौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell