हेटौंडा : दिवा खाजाको व्यवस्था गरिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शतप्रतिशत बालबालिका स्कुल जान थालेका छन्। भर्ना भएर नियमित स्कुल आउन थालेपछि प्राथमिक तहका विद्यालयमा ‘ड्रपआउट’ शून्यमा झरेको छ।
गाउँपालिकाले दिवा खाजाको कार्यक्रम सुरु गरेपछि अध्ययन अध्यापनमा सहजता मिलेको गढी गाउँपालिका-२ स्थित चण्डिका माविका शिक्षक कमल फुँयालले बताए। ‘विद्यार्थीहरु भोकले कक्षाकोठामै निदाउने गर्थे तर अहिले सहज भएको उनले छ,' उनले भने। गढी ग्रामीण क्षेत्रका भएकाले खाना नपाउने अवस्थाका विद्यार्थीहरुलाई यसले प्रभाव पारेको उनी बताउँछन्। दिवा खाजा कार्यक्रमपछि विद्यार्थी नियमित आउनुका साथै भर्ना संख्या पनि बढेको र बीचमै छाड्ने प्रवृत्ति शतप्रतिशत घटेको उनले जानकारी दिए।
यहाँ अधिकांश बालबालिका तामाङ समुदायका छन्। विद्यालयमा हाल ३ सय २५ जना विद्यार्थी अध्यनरत छन्। छात्रा प्रमिला विकले दिवा खाजा पाएपछि स्कुल नियमित आउन थालेको बताइन्। ‘कुनै दिन त भोक लागेर छुट्टी माग्नुपर्ने अवस्था आउँथ्यो तर अहिले भाइबहिनीसँगै बसेर खाजा खाना पाउँदा निकै खुशी लागेको छ,' उनले भनिन्।
प्रति विद्यार्थी १५ रुपैयाँका दरले हरेक हप्ता जाउलो, खीर, अण्डाचिउरा, चनातरकारी, भुजा, हरियो तरकारी गरी फरकफरक किसिमका खाजा दिने गरेको गढी गाउँपालिकाका विद्यालयहरुले जनाएका छन्। गत मंसीर २१ गते संघीय सरकारको सहयोगमा प्रावि तहका विद्यार्थीलाई मात्रै दिवा खाजा सुरु गरेका मकवानपुर गढी गाउँपालिकाले हाल आफ्नो बजेट विनियोजित गरेर मावि तहसम्मका विद्यार्थीहरुलाई समेत दिवा खाजा दिँदै आएको अध्यक्ष विदुर हुमागाईले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख बजेट बिनियोजन गरेको अध्यक्ष हुमागाईले जानकारी दिए।
हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुरगढीले गत वर्षदेखि ४० वटा विद्यालयका विद्यार्थीहलाई दिवा खाजाको व्यवस्था गरेको थियो । गाउँपालिकाका ६ हजार १५ जना विद्यार्थीले दिवा खाजा खाने गरेको गाउँपालिका शिक्षा इकाइ प्रमुख रामबहादुर घलानले जानकारी दिए । मकवानपुरका १० स्थानीय तहमध्ये मकवानपुरगढी गाउँपालिको मात्र यस्तो व्यवस्था गरेको हो।