
काठमाडौं : सरकारले गठन गरेको छानबिन समितिले कोभिडविरुद्धको खोप अधियानमा अनियमितता र लापरबाही भएको ठहर गरेको छ। खोप आपूर्ति, भण्डारण र वितरणमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड-१९ विरुद्ध खोप छानबिन समितिले प्रतिवेदन बुझाउँदै यस्तो ठहर गरेको हो।
स्वास्थ्यमन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा पैसा लिएर खोप लगाइएको पाइएको र निर्णय नभई बुस्टर डोज लगाइएको निष्कर्ष निकालिएको छ। ५६ हजार ९०८ मात्रा खोप खेर गएको पनि प्रतिवेदनले जनाएको छ। माघ २१ गतेसम्म उक्त खोप खेर गएको उल्लेख छ।
प्रतिवेदनमा खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ। खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ। यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको समितिले जनाएको छ। खोप अभियान कार्यक्रममा लक्षित अभियान भन्दाबाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ।
'बुष्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुष्टर लगाएको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ। विभिन्न स्थानमा गरिएको स्थलगत अवलोकन अन्तरक्रिया र सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भायलमा ११ जना मानिसलाई समेत खोप लगाएको देखिएको छ।
केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फाराम मौज्दात र खोप लगाएको विवरणको अभिलेख नियमित र पूर्णरूपमा अद्यावधिक हुन नसकेको, खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख राख्न रजिष्टरको पूर्णरूपमा प्रयोग नगरेको प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको जनाइएको छ। तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख छ। प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ मात्रा खोप बढी भएको देखिएको उल्लेख छ।
मन्त्रालयले माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो।