PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'लिग लिडर' मछिन्द्रलाई 'जायन्ट किलर' सातदोबाटोको चुनौती, लिगमा आज तीन खेल



पहिलोपोस्ट

'लिग लिडर' मछिन्द्रलाई 'जायन्ट किलर' सातदोबाटोको चुनौती, लिगमा आज तीन खेल
गोलपछिको सेलिब्रेसन गर्दै सातदोबाटो युथ क्लबका खेलाडी। फाइल फोटो।

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्। १० खेलबाट १८ अंक जोडेको त्रिभुवन आर्मी क्लब अंकतालिकाको तेस्रो स्थानमा छ भने हिमालयन शेर्पा १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा आर्मी मनाङ मर्स्याङदी क्लबलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने छ। त्यस्तै शेर्पाले जित निकाले पाँचौ र छैठौं स्थानमा रहेका संकटा क्लब र सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्नेछ।

त्यस्तै आजै दिउँसो १ बजे दशरथ रंगशालामा हुने खेलमा लिग लिडर मछिन्द्र क्लब र 'जाइन्ट किलर' सातदोबाटो आमनेसामने हुनेछन्। लिगमा 'जाइन्ट किलर' का रुपमा अघि देखिएको सातदोबाटोले जारी लिगमा लिगका सदाबहादर दाबेदार मानिने मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र नेपाल पुलिस क्लबलाई हराइसकेको छ भने संकटा र त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेलेको छ। अर्थात छैटौं स्थानमा रहेको सातदोबाटोले आफूभन्दा अघि रहेका कुनै पनि टोलीसँग पराजय ब्यहोरेको छैन। सातदोबाटो बी डिभिजनबाट प्रोमोसन भएर यही सिजनबाट ए डिभिजन लिग खेल्न सुरु गरेको हो। सातदोबाटो १० खेलमा १५ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। अर्कोतर्फ लिगको अपराजित टोली मछिन्द्र क्लब १० खेलबाट २६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ। जारी सिजन मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले मात्र पराजय ब्यहोरेका छैनन्। आजको खेलमा जित निकाले मछिन्द्र च्याम्पियन बन्ने लगभग पक्का हुन्छ।

त्यस्तै आजै हुने तेस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्। लिगमा ऐतिहासिक विरासत बोकेको पुलिसको प्रदर्शन यसपाला सन्तोषजनक छैन। १० खेलबाट १० अंक जोड्दै १० औं स्थानमा रहेको पुलिस रेलिगेशनको समेत जोखिममा छ। आजको खेलमा जित निकाल्न सके पुलिसले ८ औं स्थानसम्म पुग्न सक्नेछ। त्यस्तै १० खेलबाट १७ अंक जोडेको थ्री स्टार तालिकाको चौथो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके दोस्रो स्थानको मनाङ मर्स्याङदी क्लबसँग अंक बराबरी हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell