PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

शिक्षामन्त्री पौडेलसँग स्वीस राजदूतको भेट, प्राविधिक शिक्षाको गुणस्तर बढाउन के दिइयो सुझाव ?



पहिलोपोस्ट

शिक्षामन्त्री पौडेलसँग स्वीस राजदूतको भेट, प्राविधिक शिक्षाको गुणस्तर बढाउन के दिइयो सुझाव ?
फोटो: शिक्षा मन्त्री पौडेलको सचिवालय।

काठमाडौं : नेपालमा प्राविधिक र व्यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्वीट्जरल्याण्डले चासो व्यक्त गरेको छ। मंगलवार सिंहदरबारमा पुगी नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापलरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गर्दै यस्तो चासो व्यक्त गरेकी हुन्।

उनले नेपालमा प्रावधिकि तथा व्यवसायीक शिक्षाको गुणस्तर बढाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने सुझावसमेत दिएको शिक्षा मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा छलफल भएको सचिवालयले जनाएको छ। भेटमा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरेका थिए। जवाफमा राजदूत क्यापलरले गुणस्तरीय प्रावधिक शिक्षाका लागि प्रदेश सरकार र स्थानीय तहलाई थप अधिकार दिनुपर्ने सुझाव दिएकी हुन्।

देशभरका सबै ७५३ स्थानीयतहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने सरकारको योजना रहेको बताउँदै शिक्षा मन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेका थिए।

स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षाका प्रशिक्षकहरुका लागि तालिम दिने संस्था टिआईटिआईको स्थापना भएको छ। साथै रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधी र उच्चविद्यावारिधी शिक्षाका लागि स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सबलीकरण परियोजना लगायतमा स्वीस सरकारले गर्दै आएको सहयोग प्रति मन्त्री पौडेलले राजदूत क्यापलर र स्वीस सरकारलाई धन्यवाद दिएका थिए।

जवाफमा उनले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell