काठमाडौः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विरोधमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ६ राजनीतिक दलले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने सामान्य देखिएको छ।
सडकमा निजीदेखि सार्वजनिक सवारी चलेका छन्। तर साबिकको भन्दा केही कम सवारी चलेका कारण यात्रुलाई भने समस्या भएको छ। बस स्टेसनमा यात्रुको चाप देखिएको छ। त्यस्तै, चलेका सार्वजनिक सवारीमा पनि मानिसको भिडभाड देख्न सकिन्छ।
बन्दको आह्वान भएपछि मङ्गलबार नै गृह मन्त्रालयले प्रहरी कार्यालयलाई प्रचार गर्दै शान्तिसुरक्षा कायम राख्न निर्देशन दिएको थियो। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र साबिकको भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।
आज बिहानसम्म काठमाडौं उपत्यकाबाट बन्द गराउँदै हिँडेका ४० भन्दा बढी बढीलाई नियन्त्रणमा लिएको छ। तर पनि काठमाडौंको शान्ति सुरक्षा कायम गर्न पर्याप्त सुरक्षाकर्मी खटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सन्तोषसिंह राठौरले बताए।
'उपत्यकाको अवस्था सामान्य नै छ। आवश्यकताअनुसार ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ,' एसपी राठौरले भने।
आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बस्ने बैठकमा नै एमसीसी टेबुल गर्ने कांग्रेसको तयारी छ। संसद् बाहिर र विभिन्न ठाउँमा एमसीसीको विरोधका कार्यक्रम राखिएका छन्। जसका कारण पनि आज काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ।
एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान बन्द आह्वान गरेका हुन्।