PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एमसीसी संसदमा पेश गर्न माओवादीले अघि सार्‍यो तीन शर्त, आजको बैठकमा पेश होला त प्रस्ताव ?



पहिलोपोस्ट

एमसीसी संसदमा पेश गर्न माओवादीले अघि सार्‍यो तीन शर्त, आजको बैठकमा पेश होला त प्रस्ताव ?

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्न तीन शर्त अघि सारेको छ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी रहेको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा नै विवाद बढिरहेको बेला माओवादीले संसदीय दलको बैठकबाट शर्तहरु राखेको हो।

माओवादीले संसदमा एमसीसी पेश गर्न अवरुद्ध संसद् खोल्नुपर्ने माग राखेको छ। नेकपा एमालेको अवरोधका कारण संसद बैठक बस्न सकेको छैन। आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ। आफूले कारवाही गरेका सांसदहरुलाई हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले संसद चल्न दिइरहेको छैन।

यस्तै, माओवादीले संसदमा एमसीसी पेश गर्न गठबन्धन भित्र सहमति हुनुपर्ने वा राष्ट्रिय सहमति हुनुपर्ने शर्त अघि सारेको छ। गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसी संसदबाट अहिले नै पारित गर्ने पक्षमा छैनन्। नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एमसीसीको पक्षमा रहेको बताइन्छ। तर, मंगलवार भएको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीलाई बोक्न नहुने मत राखेका थिए। एमसीसीका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।

माओवादीले संसदमा एमसीसी पेश गर्न त्यसमा रहेको राष्ट्रिय हित विपरितका प्रावधानहरु संशोधन हुनुपर्ने माग राखेको छ। माओवादीले पहिलादेखि नै एमसीसीका केही प्रावधानहरु मागि प्रश्न उठाउँदै आएको छ।

पछिल्लो समय एमसीसीलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पठाएको पत्र र एमसीसीले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि सत्तारुढ गठबन्धन भित्र सकस बढेको छ।

प्रतिनिधिसभा बैठक पूर्व सभामुख सापकोटाले कार्य  व्यवस्था समितिको बैठक पनि बोलाएका छन्। एमसीसी पेश गर्ने भनिएपनि संसदमा प्रस्ताव पेश हुने नहुने कुरा बैठकपछि मात्रै थाहा पाइनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell