PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एमसीसीको विपक्षमा माओवादी केन्द्र : संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी



पहिलोपोस्ट

एमसीसीको विपक्षमा माओवादी केन्द्र : संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गरे माओवादीले विपक्षमा मतदान गर्ने निर्णय भएको एक नेताले बताए।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी रहेको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा नै विवाद बढिरहेको बेला माओवादीले संसदीय दलको बैठकले शर्तसहित एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो।

संसदीय दलको बैठक पछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका एक मन्त्रीले भने, ‘यथास्थितिमा एमसीसी संसदमा पेश भए हामी विपक्षमा मतदान गर्छौं। सरकारबाट बाहिर निस्कन्छौं।’

उनले सरकारबाट बाहिरिएपनि देउवा नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने कि नराख्ने भन्ने विषयमा आज कुनै निर्णय नभएको जानकारी दिए।

‘समर्थनबारे अर्को बैठकमा निर्णय होला’ ती मन्त्रीले भने।

माओवादी केन्द्रको संसदीय दलको बैठक अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्न तीन शर्त समेत अघि सारेको छ।

माओवादीले संसदमा एमसीसी पेश गर्न अवरुद्ध संसद् खोल्नुपर्ने माग राखेको छ। नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक बस्न सकेको छैन। आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ। आफूले कारबाही गरेका सांसदहरुलाई हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले संसद चल्न दिइरहेको छैन।

यस्तै, माओवादीले संसदमा एमसीसी पेश गर्न गठबन्धन भित्र सहमति हुनुपर्ने वा राष्ट्रिय सहमति हुनुपर्ने शर्त अघि सारेको छ। गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा एमसीसी संसद्बाट अहिले नै पारित गर्ने पक्षमा छैनन्। नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ। प्रमुख प्रतिपक्षी दल एमाले पनि एमसीसीको पक्षमा रहेको बताइन्छ। तर, मंगलवार भएको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीलाई बोक्न नहुने मत राखेका थिए। एमसीसीका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।

माओवादीले संसदमा एमसीसी पेश गर्न त्यसमा रहेको राष्ट्रिय हित विपरितका प्रावधानहरु संशोधन हुनुपर्ने माग राखेको छ। माओवादीले पहिलादेखि नै एमसीसीका केही प्रावधानहरु मागि प्रश्न उठाउँदै आएको छ।

पछिल्लो समय एमसीसीलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई पठाएको पत्र र एमसीसीले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि सत्तारुढ गठबन्धन भित्र सकस बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell