.jpg)
आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी' फेब्रअरी २५ बाट रिलिज हुँदैछ। फिल्म माफिया डन गंगुबाईको जीवनमा केन्द्रित छ। आलिया यस फिल्ममा गंगुबाईको भूमिकामा छिन्। फिल्ममा अजय देवगन पनि मुख्य भूमिकामा देखिँदैछन्।
तर, रिलिज हुनुअघि नै यो फिल्म विवादमा परेको छ। फिल्मको कथालाई लिएर गंगुबाईको परिवारले आपत्ति जनाएका छन्। गंगुबाईलाई समाजसेवी भन्दा पनि 'यौनकर्मी'को रुपमा चित्रण गरिएको परिवारका सदस्यको आरोप छ।
गंगुबाईले सन् १९४९ मा चार बालबालिकालाई धर्मपुत्र/धर्मपुत्री बनाएकी थिइन्। गंगुबाईका छोरा बाबुरावजी शाहले आमा र परिवारको इज्जत बचाउन अदालत जाने निर्णय गरेको बताए। उनले भने, ‘मेरी आमालाई यौनकर्मी बनाइयो। अहिले मानिसहरू बिना कारण मेरी आमाको बारेमा कुरा गर्छन्। हाम्रो परिवारलाई निकै समस्या झेल्नु परिरहेको छ।'
गंगुबाईकी नातिनी भारतीले निर्माताले पैसाका लागि आफ्नो परिवारलाई बदनाम गरिरहेकोले आफूहरुलाई मान्य नहुने बताएकी छिन्। फिल्मका लागि परिवारको स्वीकृति नलिएको समेत उनको दाबी छ।
परिवारका वकिलले फिल्ममा गंगुबाईलाई आधारहीन तरिकाले चित्रण गरिएको बताएका छन्। उनका अनुसार एक समाजसेवीलाई यौनकर्मीको रुपमा फिल्ममा प्रस्तुत गरिएको छ। उनले फिल्मका निर्देशन सञ्जय लीला भन्साली र लेखक हुसैन जैदीलाई 'नोटिस' पठाए पनि कुनै प्रतिक्रिया नआएको बताएका छन्। यो फिल्म हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित रहेको छ।
यसअघि पनि गंगुबाईको परिवारले यस फिल्ममाथि उजुरी दर्ता गरेको थियो। तर पछि बम्बई उच्च अदालतले फिल्मको रिलिजमा रोक लगाउन अस्वीकार गरको थियो।
फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत गर्ने निर्णाण टिमले जनाएको छ। यस्तै कोठीदेखि राजनीतिसम्म उनको यात्रा फिल्ममा देखाइनेछ।