
काठमाडौं : प्रतिनिधि सभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश नहुने भएको छ। आज बसेको कार्य व्यवस्था समितिको बैठकमा एमसीसी कार्यसूचीको नपरेको हो।
बैठकमा आज थारु आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यतालिका छ। यस्तै, तीनजना पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ।
सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरेको थियो। एमसीसी पेश गर्न लागेपछि संसद भवन बाहिर प्रदर्शन भइरहेको छ। सत्तारुढ दल नै एमसीसीको विरोधमा सडकमा ओर्लिँदा आज प्रस्ताव अघि बढ्न नसकेको हो।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको भेटमा एमसीसी पेश नगर्ने निर्णय भएको थियो। सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरे पछि माओवादी केन्द्रको बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने चेतावनी दिएको थियो। माओवादीका प्रमुख सचेतक देव गुरुङले गठबन्धनमा सहमति नभइ एमसीसी पेश भए गठबन्धन तोडिने र आफूहरु सरकारबाट बाहिरिने बताएका थिए। माओवादीले संसदमा एमसीसी पेश गर्न तीनवटा शर्तहरु अघि सारेको थियो।
बैठकपछि प्रचण्ड र देउवाबिच भेट भएको थियो। भेटमा एमसीसी आज अघि नबढाउने सहमति भएको हो।
एमसीसी बारे निर्णय लिन दुई नेताबिच भोलि सत्तारुढ गठबन्धनको बैठक बस्नेछ।