PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बप्पी लहरी किन धेरै सुन लगाउथे?



पहिलोपोस्ट

बप्पी लहरी किन धेरै सुन लगाउथे?
Photo : KOIMOI

बलिउड गायक एवं संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा आज निधन भयो। बलिउडका ‘डिस्को किङ्ग’ का रुपमा चिनिने उनी धेरै सुन लगाउने बानीका कारण पनि चर्चित थिए।

सार्वजनिक कार्यक्रममा सुन लगाएर देखिने बप्पीको गहनाप्रतिको मोह ज्यादै थियो। बप्पीले एक अन्तर्वातामा आफ्ना लागि सुन भाग्यशाली भएकाले धेरै सुन लगाउनुको कारण खुलाएका थिए।

आफ्नो जीवनमा गहनाको निकै महत्त्व रहेको बप्पीले बताएका थिए। यतिसम्म की उनी गीतको सफलताको श्रेय समेत गहनालाई नै दिन्थे। जीवनमा आएका अनेकौँ मोडहरुलाई सुनसँग जोडेर उनले गहनाको महत्त्व बुझाएका थिए।

अन्तर्वार्ताकै क्रममा पहिलो पटक गहना पाउँदाको अनुभव समेत उनले सेयर गरेका थिए। पहिलोपटक उनकी आमाले 'हरे राम हरे कृष्ण' लेखेको लकेटसहितको सिक्री दिएको उनले स्मरण गरेका थिए। आमाले सुनको सिक्री लगाउँदा भाग्य उदय हुने बताएकी थिइन्। नभन्दै उनको संगीत रहेको फिल्म 'जख्मी' ब्लकबस्टर भयो।

त्यसपछि उनको सुनप्रतिको मोह झन बढ्दै गयो। उनले जति सुनहरु लगाउँदै गए त्यति नै सफलता हात पार्दै गए। सन् १९७७ मा बप्पीलाई जन्मदिनको अवसरमा उनकी श्रीमती चित्रानीले ठूलो गणेशको लकेटसहितको हार दिएकी थिइन्। सुन लगाएकै कारण उनका संगीत रहेका फिल्महरु 'आपकी खातिर' र 'बम्बई से आया मेरो दोस्त' ले बक्सअफिस तताएको उनको भनाइ थियो।

गणपतिले आफ्नो जीवनमा निकै सकारात्मक परिवर्तन ल्याएको उनी मान्थे। बप्पीले आफूसँग सातवटा सुनको सिक्रीहरु रहेको बताएका थिए। उनकी छोरीले पनि सरस्वतीको लकेटसहितको सुनको ठूलो हार दिएकी थिइन्।

बप्पी केही वर्षअघि कपिल शर्मा शोमा पुगेका थिए। उनको घाँटीमा लगाएको गणेशको लकेट देखेपछि माइकल ज्याक्सनले समेत प्रशंसा गरेको किस्सा उनले सुनाएका थिए। ‘जब मैले एक कार्यक्रममा माइकल ज्याक्सनलाई भेटेँ उनले मेरो घाँटीमा गणेशको लकेट देखे र भने 'शानदार, यो धेरै सुन्दर छ। बप्पीका अनुसार माइकलले त्यसपछि डिस्को डान्सरको 'जिम्मी जिम्मी' गीतको तारिफ गरेका थिए।

बप्पी प्राय: जसो जता जाँदा पनि सुनका गरगहना लगाएर जान मन पराउँथे। तर, लामो यात्रा गर्दा भने उनी आफ्ना गहना लगाउँदैन्थे। उनले कहिले पनि गहनाहरु तौलेका छैनन्। हरेक गहनामा भगवानको उपस्थिति हुने भएकाले गहना तौल्न मन नपर्ने उनको बुझाइ थियो।

सन् २०१४ मा लोकसभा निर्वाचनमा उठ्ने क्रममा भने उनले आफूसँग ७५४ ग्राम सुन र ४.६२ केजी चाँदी रहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell