
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता गरिएकाले त्यसमा संशोधन नभएसम्म प्रस्ताव अघि बढ्न नहुने बताएका छन्।
सरकारले आज संसदमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गर्ने तयारी गरेको थियो। तर, सत्तारुढ दलकै अवरोधका कारण आजको बैठकमा एमसीसीलाई कार्यसूचीमा नै राखिएन।
‘कतिपय विषयमा दशौँ वर्ष लगाएर सहमति हुन्छ। कतिपय विषय परिस्कृत हुन्छ, परिमार्जन हुन्छ, बदलिन्छ, अनिमात्रै सहमति हुन्छ। असहमतिका विषयमा बल प्रयोग गरेर हुन्छ?’ प्रतिनिधिसभाबाट बाहिरिने क्रममा खनालले भने।
सडकमा विरोध र सरकारमा पनि बस्ने कुरा एकैसाथ हुन्छ र? भन्ने पत्रकारको प्रश्नमा पूर्व प्रधानमन्त्री खनालले भने, ‘किन नहुनु मज्जाले हुन्छ। यहाँ भइरहेको छ देख्नुभएन?’