
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा आर्मी र शेर्पा १-१ गोलको बराबरीमा रोकिएका हुन्।
खेलको २६ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलमा अग्रता बनाएको आर्मी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा हिमालयन शेर्पा खेलमा फर्कियो। खेलको ६५ औं मिनेटमा मुतम्बा पिस्टोन वुन्योलीले गोल गर्दै खेल बराबरीमा ल्याए। इन्ज्युरी समयमा आर्मीका गोलकिपर विकेस कुथु रेडकार्ड खाँदै बाहिरिएका थिए।
शेर्पासँगको बराबरीसँगै आर्मीको बराबरीको शृङ्खला लम्बिएको छ। ११ खेलमा ७ बराबरी खेलेको आर्मी १९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने १३ अंक जोडेको हिमालयन शेर्पा तालिकाको आठौं स्थानमा छ।
यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई १-० ले हराउँदै दुई खेल अगावै लिग च्याम्पियन बन्न सफल भएको छ।