ठाउँ र परिस्थितिअनुसार आफूलाई सर्लक्क ढाल्नु प्रचण्डको विशेषता नै हो। त्यसैले उनका अभिव्यक्ति जुरुक्कै उचाल्ने खालको हुन्छ सधैंजसो। यति चाहिँ हो कि - उनी एम्बुसमा पर्छन् त्यस्तै अभिव्यक्तिका कारण। कुनै पनि राष्ट्रिय मुद्दामा निजी स्वार्थका लागि भावनात्मक हिसाबले प्रस्तुत हुनु प्रचण्डको विशेषता हो। त्यही विशेषताले प्रचण्डलाई अपत्यारिलो नेताका रुपमा स्थापित गरेको छ राष्ट्रिय राजनीतिमा। सत्तारुढ गठबन्धन अहिले प्रचण्डको त्यही चरित्रले रनभुल्ल अवस्थाबाट गुज्रिरहेको छ।
+++
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चरम हेपाईबाट गुज्रिएका माधवकुमार नेपाल मध्यमार्गी नेता लाग्छन् - न कडा, न नरम। अनुशासित व्यवहार उनको विशेषता नै हो। धेरै नाम नभए पनि बदनाम पनि छैनन् उनी। नेपालको अहिलेको राजनीतिमा उनको अर्जुनदृष्टि भनेको - एमाले अध्यक्ष ओलीको दम्भ नाश गर्नु नै हो। त्यसका लागि कुनै पनि हदमा उत्रिन तयार छन्। उनका मन्त्री प्रेम आलेले शब्दमा उतार्न नसकिन अश्लिल, भद्दा र अमर्यादित शब्दमा गरेको गालीगलौच छरपष्ट हुँदा पनि उनी सहनशील भएका छन् - उनको चरित्रको ठीक विपरीत।
+++
चिठ्ठामा आइलागेको पदमा पदाशिन छन् कांग्रेस सभापति शेरबहादुर देउवा। ज्योतिषलाई मान्ने देउवा राजनीतिमा सधैं बदनाम छन् र भाग्यमानी पनि उत्तिकै। नेकपा विभाजनपछि माधव नेपाल र प्रचण्डले लगातार विन्ती गर्दा पनि 'प्रतिगमन विरुद्धको आन्दोलन'मा उत्रिएनन् देउवा। उनले त्यतिखेरमात्र कदम चाले - जतिखेर सुरक्षित रुपमा प्रधानमन्त्रीको कुर्सी उनको पाउमै आइपुग्यो। सिंगो पार्टीको लज्जास्पद पराजयको खत बोकेका देउवा एकाएक राजनीतिका सफल खेलाडीका रुपमा उत्रिए राष्ट्रिय राजनीतिमा।
+++
गठबन्धनको गाईजात्राका लागि अहिले यी तीन पात्र केन्द्रमा छन्। इन्द्रबहादुर राईको 'आज रमिता छ' लाई उछिनेर सधैं रमिता जारी छ नेपालको राजनीतिमा। बुधवार रमिताको रोचक दृश्य नयाँ बानेश्वरमा देखियो। गठबन्धनका तीन प्रमुख पात्र प्रचण्ड, नेपाल र देउवाविरुद्ध नै नारा लाग्यो - बानेश्वरमा। यिनै तीन जनाविरुद्ध नाराबाजीमा उत्रिने चाहिँ राप्रपाका कार्यकर्ता थिए। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध सडकमा उत्रिएका प्रचण्ड र माधवकुमार नेपालका कार्यकर्तासँग मिसिन पुग्दा राप्रपाका कार्यकर्ताले 'राजतन्त्र जिन्दावाद' नारा लगाइरहेका थिए। नेत्रविक्रम चन्दको नेतृत्वले त नेपाल बन्द नै आह्वान गरेको थियो - उसका कार्यकर्ता पनि थिए बानेश्वरमा। विवेकशील साझाको नाममा झन्डै राप्रपाजस्तै विचार लिएको रवीन्द्र मिश्रको विवेकशील साझाका कार्यकर्ता पनि थिए त्यहाँ। एक हिसाबले हेर्दा बानेश्वर बुधवारका दिन गिरिजाप्रसाद कोइरालाले भने झै 'माले, मसाल र मण्डले'को अभूतपूर्व एकताको थलो बन्यो।
त्यही अर्को दृश्य पनि देखियो - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ। एमसीसीविरुद्ध कार्यकर्ताका बिच जतिखेर नारायणकाजीले 'वाहवाही...' बटुलिरहेका थिए त्यतिखेर दुईतिर बैठक जारी थिए। संसदको कार्यसूची तयार गर्न सभामुख कार्यव्यवस्था परामर्श समितिको बैठक चलाइरहेका थिए एकातिर भने अर्कातिर देउवा र प्रचण्ड छलफलमा थिए - एमसीसी आजको संसदमा पेश गर्ने नगर्ने विषयमा विमर्श गर्दै। आज पेश नगर्ने सहमति भएसँगै सभामुख सापकोटाका लागि पनि सूची बनाउन झमेला परेन। संसद सुरु भयो। संसद अवरुद्ध गर्न थालेको एमालेले १६२ औं दिन पनि त्यसलाई जारी राख्यो। सर्वदलीयदेखि कार्यव्यवस्था परामर्शसम्मका बैठक बहिस्कार गर्दै आएको एमालेले आज पनि प्रदर्शनको अखण्ड ज्योति जगाइरह्यो। यतिमात्र हो, कम्युनिस्ट नाम भएर एमसीसीका विरुद्ध सडकमा नदेखिनु चाहिँ विशेष रह्यो आजका लागि।
नेपाल बन्द प्रभावहीन बने पनि आज धेरैपछि सडक तात्यो। ढुङ्गामुडा भयो। टायर बल्यो। लाठीचार्ज भयो। खिया लागेर बसेका 'टियर ग्यास गन' प्रयोगमा आयो। वाटर क्याननबाट फेरि पानीको वर्षा भयो। आन्दोलनकारीका टाउको फुटे - प्रहरीको लाठीले कुन माओवादीको कार्यकर्ता, नेकपा एकीकृत समाजवादी र राप्रपाको भन्ने ठम्याएन। सोझो शब्दमा भन्दा राज्यबाट दमन भयो। सत्तामा रहेको नेकपा माओवादी केन्द्रको सरकारले उसैका कार्यकर्तामाथि लाठी, अश्रुग्यास र पानीको फोहरा वर्षायो। बिचमा घुसेका राप्रपा र विवेकशीलका कार्यकर्ताले आन्दोलन गर्दा कतिसम्म भोग्नुपर्ने रहेछ सिक्ने अवसर पाए। यो रमितामा उनीहरु अझै 'ट्रेनी' नै हुन्। उनीहरुले पनि प्रहरीमाथि ढुङ्गा हान्न सिके। प्रहरीले धेरैपछि सडकमा अभ्यासको मौका पायो। बानेश्वरका गल्ली गल्ली भित्र पस्ने अवसर पायो प्रहरीले। प्रदर्शनकारीहरु पनि बानेश्वरबाट कहिले प्रहरी लखेट्ने त कहिले प्रहरीबाट लखेटिने क्रममा अल्झिरहे।
कार्यकर्तालाई बन्दुक बोकेका प्रहरीसँग भिडाएर नेताहरु भने मस्त घर फर्केका छन्। प्रहरीले तिनै नेतालाई स्कर्टिङ पनि गरेकै छ। नेता र कार्यकर्ता हुनुको भेद, स्वभाविक पनि हो। अब फेरि शुक्रवार संसदमा एमसीसी पेश गर्ने नेताहरुले बताएका छन्। नेताहरु अलमलिरहँदा कार्यकर्ताहरु भने फेरि बानेश्वरलाई यसरी नै तताउन आउनेछन्। अनि दोहोरिन सक्नेछन् यिनै दृश्यहरु। किनकि अझै रमिता जारी छ।