PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

वाइसीएलको बीचमा जब एक युवकले देउवा र प्रचण्ड मिलेर एमसीसी पास गर्दैछन् भने…



नेत्र तामाङ

वाइसीएलको बीचमा जब एक युवकले देउवा र प्रचण्ड मिलेर एमसीसी पास गर्दैछन् भने…

काठमाडौँ: बुधबार मध्यान्ह नयाँबानेश्वर चोक भरिभराउ थियो। दिउँसो १ बजे संसद् बैठक सुरु हुँदै थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी परियोजना संसदमा टेबल हुने खबरले बाहिर माओवादी नेता, कार्यकर्ता, वाइसीएल विरोधमा उत्रिएका थिए।
प्रदर्शनकारी, प्रहरी, सञ्चारकर्मीसँगै रमितेले भरिएको बानेश्वरको मूल सडकबाट सांसदको गाडी पनि जान सकेन। एमसीसीको विरोधमा उत्रेका वाइसीएलको भाषण चल्दै थियो। यही बेला एक जना युवक भाषणका लागि उत्रिए। 

भाषणमा बेला-बेला 'युवा संघ' शब्द प्रयोग गर्दै ती युवा जंगिए। जंगिने क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कार्यकर्ताको व्यवहार तुलना गरे। प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर प्रचण्डले एमसीसी पास गर्दैछन् भन्ने तर्क पेश गर्दै थिए उनी अप्रत्यासित रुपमा। 

'भित्र प्रचण्ड देउवासँग मिलेर एमसीसी पास गर्दैछन्, बाहिर हामीहरु किन रमिता गरिरहने?' भाषणमा उनले सोझै प्रश्न तेर्स्याए। जब उनको प्रश्न तेर्सियो। एमसीसी विरोधमा चर्को घाम र प्रहरीको घम्साघम्सी सहेर बसेका वाइसीएल कार्यकर्तालाई रिस उठ्नु स्वभाविक बन्यो। अनि सुरु भयो उनीमाथि आक्रमण। आक्रमण सुरु भएलगत्तै उनी कुदे बिजुलीबजारतिर।

एक्लै कुदेका उनका पछाडि वाइसीएलको फौज नै ओइरियो। केही तलतिर रहेको अल्फा बिटा भवन नजिकै उनी समातिए। उनी समातिँदा टेलिभिजन र अनलाइन मिडियाका क्यामराले घेरिएका थिए। क्यामराले घेरिएपछि भने उनलाई वाइसीएलका कार्यकर्ताले हातपात गरेनन्। 

मिडियाले घेरिएपछि उनलाई लैजान वाइसीएलका एक कार्यकर्ताले सुरक्षित स्थान खोजे। उनलाई एभरेस्ट होटल पछाडिको उकालोतिर डोहोर्‍याए ती कार्यकर्ताले। मिडियाले पछ्याएपछि अर्का माओवादी कार्यकर्ताले 'अतिरञ्जित अब नगरौं' भन्दै क्यामेरापर्सनहरुलाई रोके। 

'दलाललाई छाड्न हुन्न' उनले क्यामेरा रोक्दै गर्दा टाउकोमा 'नो एमसीसी' लेखिएका वाइसीएलका अर्का कार्यकर्ता झम्टिँदै थिए। त्यही बेला समातिएका युवक बेतोडले दौडिए र एकै छिनमा गायब पनि भए।

को हुन् ती 'विद्रोही'? 
एमसीसीको विरोधमा उत्रिए पनि आफ्नै भाषणका कारण लखेटिएका ती युवाले आफ्नो नाम नरेन्द्र रोकाया भएको बताएका छन्। माओवादी कार्यकर्ताबाट लखेटिएका उनी एभरेस्ट होटलको स्टाफले प्रयोग गर्ने भवनभित्र पसेपछि आक्रमणबाट बचेका थिए। एमसीसीकै विरोधमा उत्रिन बानेश्वर आइपुगेको र माओवादी कार्यकर्ताले आफूलाई नबुझेको उनको दाबी रह्यो।

'विचरालाई सम्झाउने पक्षमा थिएँ। उहाँहरुको दुरासय भावना आयो। मैले प्रचण्ड को हो भनेर सोधेको। प्रचण्डले पास गर्छन्। कार्यकर्ता विरोधमा उत्रेका छन् भनेर सम्झाउन खोजेका थिएँ। भाषण आधाआधी नहुँदै मलाई आक्रमण गरेँ,' ती युवकले भने।

आफू पूर्व माओवादी भएको दाबी गर्दै उनले डा बाबुराम भट्टराईसँगै पार्टी छाडेको उल्लेख गरे। त्यसो त उनले कहिलेकही भाषणमा भनिएझैं युवा संघको नेता भएको पनि तर्क गर्दै थिए। 

'म माओवादी केन्द्रको पक्षमा थिइन। म लेबर युनियनको हो। युवा संघको तर्फबाट थिएँ म,' उनले भने, 'म पहिले माओवादी थिएँ। बाबुरामसँगै अलग भएँ। मेरो विचारलाई नबुझेर मलाई आक्रमण गरे।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell