
पोखराः गण्डकी प्रदेश स्थापनाको चार वर्ष पुगेको छ। प्रदेश सरकारले प्रदेश स्थापनाको चार वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गर्दै मनाएको छ। मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले संघले प्रदेशलाई पर्याप्त अधिकार प्रयोग गर्न नदिएको गुनासो पोखेका छन्।
'संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको अवस्थाबारे तपाईं हामी जानकार नै छौं’ उनले गुनासो पोखे।
यद्यपि प्रदेश नयाँ संरचना भएकाले संविधान बमोजिम कतिपय संघीय कानुन निर्माण नहुनुका कारण पनि प्रदेशको भूमिकामा अवरोध भएको उनले बताए।
अझै पनि कानुन निर्माण हुने क्रममा रहेको, संस्थागत विकास नभई सकेको अवस्था, पर्याप्त र उचित जनशक्ति व्यवस्थापन हुन बाँकी नै रहेको, आवश्यकताको तुलनामा उपलब्ध वित्तीय स्रोत अत्यन्त न्यून रहेका कारण नागरिकको अपेक्षा पूरा गर्नका लागि चुनौती रहेको उनको भनाई छ।
‘अप्ठ्यारा र चुनौतीका बीच एकातिर संघीय शासन प्रणालीलाई मजबुत बनाउनुपर्ने छ,' उनले भने, 'अर्कोतर्फ विकास र समृद्धिका लागि नागरिकको बढ्दो अपेक्षा पूरा गर्नका लागि हामीले सम्पूर्ण ऊर्जा प्रयोग गर्नुपर्ने अवस्था छ।’
यी बाधाका बीच पनि प्रदेश स्थापनाको छोटो समयमा नयाँ संरचनाले नागरिकको मन जित्न सफल भएको उनले बताए। यसले विकास निर्माण तथा सेवा प्रवाहमा प्रदेशलाई सक्रिय बनाउँदै आउने उनको भनाइ छ।
'अहिलेसम्मको यात्राको गति ढिलो भएता पनि गन्तव्यतर्फ नै अघि बढेको हुँदा लक्ष्य हासिल हुनेमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन,' मुख्यमन्त्री पोखरेलले भने।
त्यसैले पनि प्रदेश सरकारले संविधानको भावना र मर्म बमोजिम काम गरिरहेको छ वा छैन भन्नेबारे प्रश्न रहेको उनले बताए। नागरिकको खोजे अनुसार प्रदेश क्रियाशील बनाउन छ कि छैन भनेर वस्तुनिष्ठ समीक्षा गर्न जरुरी रहेको उनको भनाइ थियो।
सरकारको ४ वर्षे उपलब्धि
समारोहमा सरकारका ४ वर्षे उपलब्धि समेटेर तयार पारिएको पुस्तक विमोचन गरिएको थियो। गत ४ वर्षको अवधिमा प्रदेशले भौतिक विकासतर्फ ८७३ किमोमिटर सडक निर्माण भएको छ। प्रदेशमा ७ वटा मोटरेबल पुल बनेका छन् भने ८९ वटा सडक पुल निर्माणाधीन छन् । यस्तै ३२ वटा झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ भने ३३ वटा झोलुङ्गे पुल आगामी वर्ष सम्पन्न हुँदैछ।
मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने कोरला करिडोर सडकको स्तरोन्नति गर्ने र सम्पूर्ण सडकलाई दुई लेनको बनाउने कार्य तीव्रताको साथ भइरहेको उल्लेख गरिएको छ ।
प्रदेश सरकार स्थापना हुँदा विद्युतमा पहुँच प्राप्त परिवार ८२.२ प्रतिशत बढेर अहिले ९३ प्रतिशत पुगेको छ। खानेपानी सुविधा विस्तारका लागि ४२२ वटा खानेपानी आयोजना प्रदेश सम्पन्न गरेर ८२ हजार १७० निजी धारा जडान गरेको छ। आगामी वर्ष सम्ममा सबै घरमा आधारभूत तहको खानेपानी सुविधा पुग्ने प्रदेश सरकारले प्रतिबद्धता दिएको छ।