PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पार्टी सरकारमा, भातृ संगठन सडकमाः प्रदर्शनकारी र प्रहरीबीच दिनभर चल्यो धक्कामुक्का



विधुर ढकाल

पार्टी सरकारमा, भातृ संगठन सडकमाः प्रदर्शनकारी र प्रहरीबीच दिनभर चल्यो धक्कामुक्का

काठमाडौं :बुधबार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको एमसीए कम्प्याक्ट प्रतिनिधि सभामा पेश गर्ने तयारीमा सरकार थियो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मंगलबार नै संसदीय दलबाट सम्झौता पेश गर्ने निर्णय गरेको थियो।

 बुधबार १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। सम्झौता पारितको तयारी गरेको भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा, मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसहितका पार्टीहरुले नेपाल बन्दको कार्यक्रम आयोजना गरेका थिए।

अर्कोतर्फ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा कांग्रेसले एमसीए कम्प्याक्ट अगाडि बढाउने निर्णय गरेपछि जनवर्गीय संगठनलाई सडकमा उतार्‍यो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जनवर्गीय संगठनका नेतृत्वलाई एमसीसीविरुद्धमा सडकमा उत्रिन निर्देशन दिँदै संसदीय दलको बैठकबाट यथास्थितिमा कम्प्याक्ट अगाडि बढाए गठबन्धन धरापमा टुट्ने र प्रतिनिधि सभामा विरोधमा उभिने निर्णय गराएर बालुवाटार पुगे।

त्यति बेलासम्म बन्द आयोजना गर्ने दलका नेता कार्यकर्ताहरु बानेश्वरमा प्रदर्शन गरिरहेका थिए। केही नेता कार्यकर्तालाई बिजुलीबजार पुलबाट प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। प्रहरीको घेरा तोड्दै बानेश्वर संसद् भवन नजिक पुगेका साना बाम घटकका नेता कार्यकर्तामाथि प्रहरीले दमन गर्‍यो। पानीको फोहोरा प्रयोग गर्दै तितरवितर पार्‍यो।

त्यति बेलासम्म अर्को टोली माओवादी केन्द्र निकट युवा संगठन वाइसीएल र अखिल (क्रान्तिकारी) का कार्यकर्ता बानेश्वर पुगिसकेका थिए।

बानेश्वरको एभरेस्ट होटल अगाडिदेखि नै निषेधित क्षेत्र तोकेर प्रहरी घेरा हालेर बसेको थियो। एभेरेस्ट होटलको पर्खालको आडमा ठूलो स्पिकर घन्किरहेको थियो। एकातिर वाइसीएल अखिल क्रान्तिकारीका युवा विद्यार्थी एमसीसीविरुद्ध नाराबाजी गरिरहेका थिए। अर्कोतिर स्पिकरबाट साना वाम दल समर्थित युवा बन्द सफल पारौँ भन्दै नारा लगाइरहेका थिए।

केही क्षणमा उनी बाहिरिए। वाइसीएलका अर्का कार्यकर्ता पुगेर भाषण गर्न थाले। एकातिर एकनास भाषण चलिरहेको थियो। सडकको अर्को किनारमा वाइसीएलका  कार्यकर्ता प्रहरीसँग धकेलाधकेल गरिरहेको थियो।

भर्खरै प्रहरी साना वाम दलका कार्यकर्ताहरुसँग भिडेको सुस्ताउँदै थियो। सरकारमा रहेको अर्को दलका कार्यकर्ता धकेलाधकेलमा उत्रिए। भीडबाट प्रहरीमाथि पानीका बोतल फालिँदै थिए। झण्डा फहराउन प्रयोग भएका लाठी फालिँदै थिए।

प्रहरीले शान्त हुन आग्रह गरिरहेको थियो। केही छिन अगाडि मात्र उग्र भएर साना वाम दलका कार्यकर्ता खेद्ने प्रहरीको रुप फेरिएको थियो। धकेलाधकेलकाबीच प्रहरीसँग घम्साघम्सी भयो। तर, प्रहरी शान्त नै रह्यो। त्यही धकेलाधकेलकाबीच एक जना अखिल क्रान्तिकारीका कार्यकर्ता विप्लव खड्का ढले। कार्यकर्ताहरुले नै उनलाई झ्यानकुटी पार्दै नजिकैको एभरेस्ट अस्पताल पुर्‍याए।

वाइसीएलका कार्यकर्ता उग्र बन्दै गर्दा प्रहरी शान्त शालीन बनिरह्यो।

त्यतिबेला प्रचण्ड बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग वान-अन-वान वार्तामा थिए। दुई नेताबीच एमसीए कम्प्याक्ट बुधबार अगाडि नबढाउने सहमति गरे। प्रतनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै शुक्रबारसम्मका लागि स्थगित भयो। 

सडकमा प्रहरीसँग घम्सा घम्सी गरिरहेका वाइसीएलका कार्यकर्ता विस्तारै मत्थर हुँदै फर्किन थाले। वानेश्वरमा प्रहरीसँग वाईसीएलका कार्यकर्ता धकेला-धकेल गरिररहँदा राप्रपाका नेता कार्यकर्ता माइतीघरबाट वानेश्वर तर्फ अगाडि बढ्दै थिए। उनीहरुलाई प्रहरीले विजुलीबजार पुलमा रोकेर राखेको थियो।

राप्रपाका कार्यकर्ता धकेला-धकेल गरेर वानेश्वरतर्फ अगाडि बढे।

अगाडि वाइसीएलका कार्यकर्ताले भाषण गरिरहेकै ठाउँमा राप्रपाका नेता भाषण गर्न थाले। अर्कोतिर कार्यकर्ता सडकको अर्कोतिर प्रहरीसँग उस्तै गरी धकेलाधकेल गर्न थाले। राप्रपाका कार्यकर्ता प्रहरीमाथि जाइ लाग्न थाले। प्रहरी के छाड्थ्यो। केही अगाडि सरकारमा रहेको दलका कार्यकर्ताहरुको चिड्याहटमा रहेका प्रहरी राप्रपाका कार्यकर्तामाथि अश्रु ग्यास, लाठी ढुंगा हान्दै लखेट्न थाल्यो। पानीका फोहोराले तितरवितर पार्न थाल्यो।

लखेट्दै विजुलीबजार पुलसम्म पुर्‍यायो। एक-एक गर्दै सडक छेउमा उभिएका कार्यकर्ताहरुलाई मास्क खोल्न लगाउँदै पहिचान गर्दै लाठी बर्साउन थाल्यो। प्रहरी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै भ्यानमा कोच्न थाल्यो।

बिहानदेखि दिउँसोसम्म प्रहरीका उस्तै प्रदर्शनकारी, एउटै विषय तर फरक-फरक व्यवहार देखियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell