
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार बुधबार प्रदान गरिएको छ।
‘नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७८/१०/२४ को निर्णयानुसार राखेपको सदस्य–सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय भए बमोजिम राखेपका सदस्य–सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार तपाईंलाई दिएको छु।’ राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
सत्ता समीकरण फेरिएपछि आएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने रमेश सिलवाल र बोर्ड सदस्यहरुलाई स्पस्टीकरण सोधेर हटाएपछि यो मामला अदालतसम्म पुगेको थियो। यता खेलकुद मन्त्रालयले टंकलाल घिसिङलाई सदस्यसचिव बनाएको अवस्थामा अदालतमा मुद्धा अघि बढेका कारण यो विषय टुंगोमा पुग्न सकेको छैन। यो हाल अदालतमा विचारधीन रहेको छ।
थापासंग राखेप मातहतका विभिन्न विभाग र शाखमा प्रमुख भइ काम गरेको अनुभव छ। यसअघि थापा प्रशासन विभाग र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा रहिसकेका छन्। त्यस्तै थापाले प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायतमा प्रमुख भइ काम गरी गरिसकेका छन्। थापाले बिहीबार पद वहाली गर्ने बताइएको छ।