
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ संसदबाट अस्वीकृत हुने सम्भावना पनि रहेको बताएका छन्।
बिहीवार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण कार्यक्रममा सम्बोधन गर्दै देउवाले आफूहरुले एक भएर एमसीसीको पक्षमा निर्णय लिएको बताए।
‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ। त्यसमा लागिराखेको छु। फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन,’ देउवाले भने।
उनले एमसीसी राष्ट्रिय हितमा नै रहेको बताउँदै संसदबाट उक्त परियोजना पारित गराउन लागि परेको बताए। ‘राष्ट्रको हितमा छ भन्नेकुरा सत्य कुरा हो यो। हामीले भन्नुपर्छ यो, सत्य हो,’ देउवाले भने।
देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताए।
प्रतिनिधि सभामा बुधवार एमसीसी पेश गर्ने सरकारको तयारी थियो। तर सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी पेश गर्ने विषयमा असहमति जनाएपछि हिजोको बैठकमा एमसीसी पेश भएन।
माओवादीले एमसीसी पेश भए आफूहरु गठबन्धन र सरकारबाट बाहिरिने चेतावनी दिएको थियो। देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटपछि प्रस्ताव पेश नभएको हो। एमसीसी बारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।