PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हजारका नक्कली नोट भेटिएसँगै 'फेक करेन्सी'को त्रास



पहिलोपोस्ट

हजारका नक्कली नोट भेटिएसँगै 'फेक करेन्सी'को त्रास

काठमाडौं : बुधवार काठमाडौंमा हजारका नक्कली नोट भेटिएसँग 'फेक करेन्सी'को त्रास बढेको छ। तराईका जिल्लामा फाट्टफुट्ट नक्कली नोट भेटिन थालेको भए पनि काठमाडौंमा धेरैपछि नक्कली नोट फेला परेको हो।

बुधवार प्रहरीले २ लाख ९४ हजार रुपैयाँ नक्कली नोट फेला परेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले बुधवार दिउँसो  काठमाडौँ महानगरपालिका १६ नयाँ बजार मेडिकल चोकबाट चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले रौतहट गौर नगरपालिका घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह,२७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र वर्ष २८ वर्षीय महमद शम्साद आलमलाई नियन्त्रणमा लिएको हो। उनीहरुले काठमाडौं उपत्यका बाहिरबाट नक्कली नोट ल्याएको प्रहरीमा बयान दिएका छन्।

'अहिलेसम्म काठमाडौं उपत्यका बाहिरबाट नक्कली नोट ल्याएको बताएका छन्। थप अनुसन्धान गरिहरका छौं,' महाशाखाका एसपी कृष्ण कोइरालाले बताए। उनीहरुले ल्याएका मध्ये २०/३० थान नक्कली नोट बजारमा गइसकेको एसपी कोइरालाले बताए।

'२० देखि ३० थान नक्कली नोट बाहिर गएको भन्ने छ। त्यसैले नोट प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ,' एसपी कोइरालाले भने। महाशाखाबाट खटिएको टोलीले दुई लाख ९४ हजार नक्कली नेपाली नोट फेला पारेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गएको आर्थिक वर्षममा देशभर ४० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको नक्कली नोट फेला परेको थियो। जसमा ४३ जना मानिस समातिएका थिए। यसरी समातिएका मानिसहरु मध्ये धेरैले फोटोकपी मेसिनको प्रयोग गरेर नक्कली नोट छापेको बताएका थिए। कतिपय ठाउँमा प्रहरीले कोठाबाट नै नक्कली नोट छाप्ने फोटोकापी मेसिन र अन्य सामानहरु पनि बरामद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell