
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको इतिहास सबै नेपालीलाई पढाउनुपर्ने बताएका छन्। बिहीवार बिहान नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण गर्दै देउवाले किताब सबैलाई पढाउनुपर्ने बताएका हुन्।
'नेपाली कांग्रेसको इतिहास सम्पूर्ण नेपालीहरुलाई पढाउनुपर्छ। नेपाली कांग्रेसको इतिहासको सम्बन्धमा अझै जानकारी छैन,' प्रधानमन्त्री देउवाले भने।
एक प्रसंग कोट्याउँदै देउवाले बीपी कोइरालालाई समेत कांग्रेस हो र भनेर सोधिएको घटना सुनाए। 'कोही के भन्छन् कोही के भन्छन् बुझेकै छैन यहाँ। उहिले हाम्रो बीपी कोइरालाको फोटो एक ठाउँमा देखेछन्। यो बुढो पनि कांग्रेस हो र भनेर सोधेछन्,' हाँस्दै देउवाले भने।
कांग्रेस देशकै महत्वपूर्ण पार्टी भएको उल्लेख गर्दै देउवाले पार्टीका नेताहरुसमेत पार्टीको प्रचारमा नलागेको तर्क गरे।
'अझै पनि के छ भने पार्टिको प्रचार गर्न सकेको छैन। यो दुर्भाग्य कुरा हो। नेताहरुको प्रचारबाहेक अरु गर्न सकेनौ। भोलि गएर आफ्नोमात्र प्रचार गर्ने,' उनले भने।
जस लिने होडबाजीले पार्टीभन्दा व्यक्तिको प्रचार बढेको देउवाको भनाई थियो। 'पार्टीको प्रचार हामीले कम गरेका छौं। हामीले गरेका कामहरुको प्रचार कम गरेका छौं। प्रचार भएपछि जस अरुलाई जान्छ भन्ने हामीलाई ईर्श्या छ। पार्टीले गर्यो भने नाम किन भन्नुपर्यो? पार्टीले गर्यो भनेर देशभरी भन्न सकिन्छ,' प्रधानमन्त्री देउवाले भने, 'पार्टीको प्रचार पुगेको छैन। पार्टीले गरेका राम्रा कुराहरु पुगेका पनि छैनन्। पार्टीले राम्रो कामहरु गरेको छ।'
पार्टीको झ्ण्डामा रहेको चार ताराको कुरा पनि बुझाउन नसकेको उल्लेख गर्दै देउवाले कांग्रेस सत्यवादी पार्टी भएको र कसैसँग डराउन नहुने बताए।