
काठमाडौं : ‘स्की’का लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ। तर, मुस्ताङमा सम्पन्न चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न हुँदा नेपालमा नि ‘स्की’ सम्भावन छ भन्ने सिद्ध भएको छ।
सामान्य वातावरण भन्दा अलि फरक वातावरणमा समाहित हुँदै खेल्नु पर्ने ‘स्की’ खेल नेपालमा पनि अन्तर्राष्ट्रिय स्थलमा जस्तै आयोजना हुन्छ भन्ने उदाहरण बनेको छ।
यो खेल विशेष गरि युरोपमा निकै लोक प्रिय छ। सहासिक खेलको रुपमा हेरिने यो खेल नेपालमा पनि सम्भव छ भन्ने उदाहरण मुस्ताङमा सम्पन्न चौथो स्कि च्याम्पियनसिपले प्रष्ट पारेको नेपाल स्की संघले जनाएको छ।
नेपालमा स्की खेलको सम्भावना भनि रहँदा वारागुङ मुक्तिक्षेत्रको रानीपौवाको सेताम्मे हिउँमा चौथो संस्करणको स्की प्रतियोगिता नै सम्पन्न भयो। स्थल मार्गको पहुँच र बसोबासका लागि उपयुक्त मुस्ताङमा हिउँको अवस्था राम्रो भएका कारण प्रतियोगिता आयोजना गर्न सफल भएको नेपाल स्की संघका महासचिव विजयी श्रेष्ठले बताए।
प्रतियोगितामा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाएका थिए। जसमा अल्पाईन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ विजयी भए। धनगढीका दिनेश कुमार बोहरा दोस्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेस्रो भएका थिए।
यस्तै, अल्पाईन स्की महिलातर्फ नुवाकोटकी संगिता लामा पहिलो बन्दा ललितपुरकी देबोटा तिमाल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमश दोस्रो र तेस्रो भए।
अघिल्लो वर्ष कोरोनाका कारण स्की च्याम्पियनसिप आयोजना गर्न कठिनाई भएको थियो। प्रतियोगितामा सहभागी भएका खेलाडी मध्येका सदा श्रेष्ठले हिउँ पर्ने स्थान मध्येको मुस्ताङ क्षेत्रमा ‘स्लोप’ बनाउनका लागि सजिलो हुने भएकाले उचित प्रशिक्षण हुँदा स्की खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने बताइन्।