PahiloPost

Jul 3, 2024 | २० असार २०८१

रुपन्देहीमा स्थानीय निर्वाचनको चर्चा : एमालेले बुटवलमा आफ्नो ‘दवदवा’ कायम राख्न यसपटक कसलाई अगाडि सार्ला?



रमेश पराजुली

रुपन्देहीमा स्थानीय निर्वाचनको चर्चा : एमालेले बुटवलमा आफ्नो ‘दवदवा’ कायम राख्न यसपटक कसलाई अगाडि सार्ला?

बुटवल : सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेलाई तोकेसँगै रुपन्देहीमा चुनावी सरगर्मी बढेको छ। रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकासहित १६ स्थानीय तह छन्।

जिल्लामा गत निर्वाचनमा जित निकालेका नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आफ्नो बर्चश्व जोगाउने चिन्ता छ भने अन्य दललाई जसरी भएपनि स्थानीय सरकारमा उपस्थिति जनाउने चुनौती छ। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्लासमेत रहेको रुपन्देहीमा राजनीतिक माहोल तातेको हो।

जिल्लाको एकमात्र उपमहानगरपालिका र सबैको केन्द्रबिन्दु रहेको बुटवलमा आगामी निर्वाचनमा एमालेले कसलाई अगाडि सार्ला भन्ने चर्चा शुरु भइसकेको छ। चिया चौतारीदेखि चोकचोकमा अब बुटवलको नेतृत्वमा को आउला? भन्ने चर्चा बहसको विषय बन्न थालिसकेको छ। सधैँ एमालेको ‘दवदवा’ रहेको बुटवल पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्र तथा गण्डकी प्रदेश मुकाम पनि हो।

त्यसैले पनि हरेक निर्वाचनमा बुटवललाई विशेष चासोका साथ हेर्ने गरिएको छ। सरकारले निर्वाचनको मिति तोकेसँगै प्रमुख पदका लागि उम्मेद्वारका आकांक्षीहरूले आन्तरिक रूपमा लबिङ शुरू गरेका छन्।

बुटवल देशकै पुरानो नगरपालिका मध्येको एक हो। बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र (रूपन्देही क्षेत्र नम्बर-२) समेत भएकाले मेयरको उम्मेद्वारमा एमालेले कसलाई अगाडि सार्ला भन्ने बढी चासोको विषय बन्छ।

एमाले उपाध्यक्ष पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचनमा लगातार भारी मतका साथ निर्वाचित भएर ‘हयाट्रिक’ गरेका छन्। शिक्षा, स्वास्थ्य, र भौतिक पूर्वाधारको विकासमा पौडेलले रूपन्देहीलाई धेरै अगाडि बढाएका छन्। सबै पार्टीले बुटवलको चुनावलाई विशेष महत्व दिन्छन्।

आकांक्षी आधा दर्जन भएपनि ३ जनाको चर्चा

बुटवल उपमहानगरमा आगामी निर्वाचनमा एमालेबाट आकांक्षी आधा दर्जन भएपनि ३ जनाको चर्चा बढी छ। युवा नेता गोपाल राना, हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवि आचार्य, बाबुराम भट्टराई, एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी र एमाले केन्द्रीय सदस्य तथा जिफन्टका उपाध्यक्ष कमल गौतम पनि आकांक्षी देखिएका छन्।

आधा दर्जन आकांक्षी भएपनि एमाले युवा नेता गोपाल राना, हालका मेयर शिवराज सुवेदी र अर्का नेता बाबुराम भट्टराईमध्येबाट एक जनाले मेयरको टिकट पाउने निश्चित जस्तै रहेको एमालेका जिल्ला नेताहरू बताउँछन्।

अघिल्लो निर्वाचनमा पनि मेयरमा चर्चामा रहेर अन्तिम समयमा टिकट वितरण गर्दा सुवेदीले पाएपछि पछाडि हटेका युवा नेता राना अहिले बढी चर्चामा छन्। दुई कार्यकाल युवा इन्चार्ज भएर काम गरेका राना निर्वतमान जिल्ला उपसचिव पनि हुन्। रानाले यस पटक आफू स्वतः बुटवलको मेयरको उम्मेद्वार रहेको बताए।

‘आगामी निर्वाचनमा बुटवलको नेतृत्वको लागि तयार छु,’ उनले भने।

बुटवललाई नमूना शहर र संगठनलाई थप सृदृढ बनाउने लक्ष्यका साथ आफु अघि बढेको रानाले बताए।

अहिलेका मेयर सुवेदी पनि नेतृत्वमा पुनः दोहोरिन चाहन्छन्। एमालेको केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष सुवेदीले अहिले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न नेतृत्वमा दोहोरिन चाहेको उनी निटक नेताहरू बताउँछन्। तर, उनी अहिले नै आफू पुनः मेयरमा दोहोरिन चाहेको विषयमा बोलेका छैनन्।

मजदुर आन्दोलनबाट राजनीतिक यात्रा शुरू गरेका सुवेदीले हालै सम्पन्न एमालेको महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य बनेका हुन्। स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेद्वारी दिन नपाउने भएपछि पदबाट राजीनामा दिएपछि मात्रै सुवेदी उम्मेद्वार हुन पाउने छन्।

अर्का आकांक्षी बाबुराम भट्टराईले अब बुटवलको नेतृत्वको लागि पार्टीले आफूलाई अगाडि सार्नुपर्ने बताउँछन्। उनी एमाले जिल्ला कमिटी हुँदै अहिले प्रदेश सदस्य बनेका छन्। त्यस्तै, नेपाल औषधि व्यववसायी संघको निर्वतमान केन्द्रीय अध्यक्ष, एमाले केन्द्रीय स्वास्थ्य विभागको पूर्व सदस्य पनि हुन् उनी।

त्यस्तै, अहिलेका उपप्रमुख आचार्य, एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पनि पार्टीले आफूलाई उपमहानगरको मेयरमा अगाडि सारे नेतृत्व लिने बताउँदै आएका छन्।

यस्तो थियो अघिल्लो चुनावमा बुटवलको नतिजा

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेद्वारहरूलाई पराजित गरी बुटवलको मेयरमा एमालेबाट शिवराज सुवेदी र उपप्रमुखमा गुमादेवी आचार्य निर्वाचित भएका थिए। सुवेदीले २३ हजार २४९ मत प्राप्त गरी मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता खेलराज पाण्डेयले २० हजार ८५१ मत पाएका थिए। उक्त निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापा मगरले १ हजार १५१ मत पाएका थिए।

यस्तै, उपप्रमुखमा आचार्यले २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगत बहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र थियो। पोखरेल नेकपा विभाजनपछि अहिले एमालेमा रहेका छन्।

यसपटक पनि कांग्रेस-माओवादी सहितका सत्तापक्षीय दलको गठबन्धन हुने अवस्था देखिन्छ। त्यसैले एमालेलाई विगतको बिरासत जोगाउने गरी सही उम्मेद्वार छनौट गर्नुपर्ने चुनौती पनि छ।

त्यस्तै, १९ वटा वडा रहेको बुटवलमा १५ वटामा एमालेका उम्मेद्वार निर्वाचित भएका थिए। बुटवलमा नेकपा एमाले तथा नेपाली कांगेस र माओवादी संयुक्त रुपमा लडेका थिए।

तिलोत्तमा नगरपालिकामा एमालेका बासुदेव घिमिरेले २१ हजार ८६८ मत ल्याएर निर्वाचित भएका थिए। तिलोत्तमा रुपन्देहीका नगरपालिकाहरुमध्ये सबैभन्दा धेरै मतदाता भएको नगरपालिका हो।

त्यस्तै, सैनामैना नगरपालिकामा एमालेका चित्रबहादुर कार्की १३ हजार ७३ मत ल्याउँदै नगरप्रमुखमा निर्वाचित भएका थिए भने देवदह नगरपालिकामा नेपाली कांग्रेसका हिराबहादुर खत्रीले १० हजार २११ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका थिए।

सिद्धार्थनगर नगरपालिकामा एमालेका हरिप्रसाद अधिकारीले ६ हजार ७०५ मत ल्याएर निर्वाचित भएका थिए। सिद्धार्थनगरमा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका बीचमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरीले ८ हजार १७१ मत ल्याएर निर्वाचित भएका थिए। चौधरी अहिले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

त्यस्तै, सियारी गाउँपालिका अध्यक्षमा एमालेका अयोध्या प्रसाद थारुले ६ हजार ५२ मत ल्याएर निर्वाचित भएका थिए। कोटहीमाई गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका चन्द्रभुषण यादव ३ हजार ३११ मत ल्याएर निर्वाचित भएका थिए।

कञ्चन गाउँपालिकाको अध्यक्षमा एमालेका गोकर्णबहादुर क्षेत्रीले ६ हजार ७७७ मत ल्याएर निर्वाचित भएका थिए भने शुद्धोधन गाउँपालिका
अध्यक्षमा एमालेकै किशुनचन्द्र चौधरी ५ हजार ३७१ मत ल्याउँदै निर्वाचित भएका थिए।

मायादेवी गाउँपालिका अध्यक्षमा कांग्रेसका ध्रुवनारायण चौधरी २ हजार ८१६ मत ल्याएर निर्वाचित भएका थिए। रोहिणी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका सनोज कुमार यादव ३ हजार ७६० मत ल्याएर निर्वाचित भएका थिए। हालै उनी एमालेमा प्रवेश गरेका छन्।

त्यस्तै, गैडहवा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका बछुलाल केवटले ५ हजार ४११ मत ल्याएर निर्वाचित भएका थिए। मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका केशबनन्द बनियाँ ३ हजार ४०५ मत ल्याएर निर्वाचित भएका थिए।

ओमसतिया गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार बनेका हिरा केवट ‘राहुल’ निर्वाचित भएका थिए। हालै उनी एमालेमा प्रवेश गरेका छन्।

सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका जितेन्द्रनाथ शुक्ला बब्लु ३ हजार ६६ मत ल्याएर निर्वाचित भएका थिए। निर्वाचन जितेपछि केही समय एमाले बनेका उनी केही समयमा नै एमाले छोडेका थिए। शुक्ला अहिले माओवादी केन्द्रमा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell