
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मनाङ मर्स्याङदी क्लब विभागीय टोली एपीएफसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले मनाङलाई ३-१ गोल अन्तरले हराएको हो।
खेलको ३३औँ मिनेटमा मनाङका एडिलेजा सोमिडेको प्रहार एपीएफका गोलकिपरले बचाएका थिए। ३७औँ मिनेटमा एपीएफका गोलकिपर युया कुरियामाको कमजोरीको फाइदा उठाउँदै अन्जन विष्टले गोल गरे।
४०औँ मिनेटमा मनाङका अन्जनको क्रसमा विमल रानाले गरेको प्रहार एपीएफका गोलकिपरको हातमा पुगेको थियो। लगत्तै, काउन्टरमा एपीएफका आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकियो।
खेलको ८१औँ मिनेटमा एपीएफका मणी कुमार लामाले नवीन लामाको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। लगत्तै, ८७औँ मिनेटमा नवीन लामाले गोल गर्दा एपीएफले जित सुनिश्चित गरेको हो। आशिष लामाको प्रहार मनाङका गोलकिपर विशाल सुनारले होल्ड गर्न नसक्दा नवीन लामाले गोल गरेका थिए।
जितसँगै एपीएफले ११ खेलबाट १४ अंक जोड्दै रेलिगेशनको जोखिमबाट आफूलाई सुरक्षित गरेको छ। मनाङ भने २० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। एपीएफले अघिल्लो महिना पोखरामा सम्पन्न आहा रारा गोल्डकपको फाइनलमा पनि मनाङलाई हराउँदै च्याम्पियन बनेको थियो।