PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

खुमलटार पुगेका कलाकारहरुलाई प्रचण्डको प्रश्न : के छ भावी योजना ?



पहिलोपोस्ट

 खुमलटार पुगेका कलाकारहरुलाई प्रचण्डको प्रश्न : के छ भावी योजना ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सकसमा छन्। सत्तारुढ गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गराउने प्रयास गरिरहँदा प्रचण्ड त्यसको विपक्षमा उभिएका छन्। जसकारण सत्तारुढ गठबन्धनको भविष्य अन्योलमा परेको छ। 

बुधवार संसदमा एमसीसी पेश हुनबाट प्रचण्डले रोक्न सफल भए पनि भोलि फेरि एमसीसी पेश गर्ने तयारी सरकारको छ। प्रचण्ड नेतृत्वको पार्टी भने एमसीसी रोक्न लागिरहेको छ। हिजैदेखि प्रचण्ड एमसीसीलाई लिएर छलफलमा छन्। 

राजनीतिमा प्रचण्डको आगामी 'मुभ' के होला भनेर प्रश्न उठिरहेको बेला उनी भने आज कलाकारसँग देखिए। बिहानै कलाकारको एक समूह प्रचण्ड निवास खुमलटार पुगेको थियो। छलफलमा प्रचण्डसँग कलाकारिता क्षेत्रसँगै समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको थियो।  

संगीतकार चेतन सापकोटा मार्फत सन्दीप क्षेत्री, गायक राजेशपायल राई, गायिका कल्पना दाहाल, रीता सिवाकोटी, करिश्मा ढकाललगायतका कलाकारहरु प्रचण्डसँग भेट्न खुमलटार पुगेका थिए।

‘उहाँसँग सामान्य भेटवार्ता भएको हो। उहाँले मेरा कार्यक्रमबारे र योजनाबारे सोध्नुभयो। मैले पनि आफ्ना कुरा मज्जाले सुनाए। कलाकारलाई माया गर्ने नेता भएर उहाँसँग भेटेर निकै रमाइलो लागेको छ,’ सन्दीपले भने।

प्रचण्डले सन्दीसँगै अन्य कलाकारहरुलाई पनि उनीहरुको योजना र संगीत क्षेत्रको अवस्था बारे प्रश्न गरेका थिए। कलाकारहरुले पनि प्रचण्डसँग सांगीतिक क्षेत्रसँगै समसामयिक विषयमा जिज्ञासा राखेका थिए।

संगीतकार चेतन सापकोटाले भेटघाट गर्ने सबै कलाकारहरुको फोटो फेसबुकमा सेयर गरेका छन्। पारिवारिक वातावरणमा प्रचण्डसँग भेटेर सबै कलाकारहरुले खुलेर मनको कुरा राखेको उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell