
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा गरेको तालाबन्दीको विरोध गर्दै प्राध्यापकहरुले प्रदर्शन गरेका छन्।
विश्वविद्यालयका प्राध्यापकहरुले उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
‘तालाबन्दी समाधान होइन, समस्या हो’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ’, ‘अब त अत्ति भयो’, ‘विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म’, ‘विश्वविद्यालय सुधारका लागि एकजुट होऔँ’, लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर रजिस्टार कार्यालय बाहिर प्रदर्शन गरेका हुन्। प्राध्यापकहरुले रजिस्टार कार्यालय शान्तिपूर्ण धर्ना समेत दिएका थिए।
नेविसंघको तालाबन्दीको विरोधमा प्रदर्शनमा उत्रेका प्राध्यापकहरुले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले कार्यालय बन्द गर्दा पठनपाठनमा समस्या भएको आरोप लगाएका छन्। प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताएका छन्। उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु मागथ समेत गरेका छन्।
नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ।