PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

गठबन्धनको बैठक अघि तीन दलको छलफल, प्रचण्डले भने : पाँच दललाई नै कसरी बचाउने भनेर लागेका छौं



पहिलोपोस्ट

गठबन्धनको बैठक अघि तीन दलको छलफल, प्रचण्डले भने : पाँच दललाई नै कसरी बचाउने भनेर लागेका छौं

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्।

बिहीवार अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’लाई लिएर सत्तारुढ गठबन्धनको बैठक बस्नु अघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग प्रचण्डले छलफल गरेका थिए।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटघाटका क्रममा उनले आफूहरु गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका हुन्।

‘सत्तारुढ गठबन्धनको बैठकको तयारीको रुपमा भेटघाट गरेका हौं। तीन दललाई कसरी बचाउने भनेर लागेका छैनौँ। ५ दललाई नै कसरी बचाउने भनेर लागेका हौँ र एमसीसीलाई कसरी निकास दिने भन्ने कुरा हो’ प्रचण्डले भने।

उनले आज साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने विश्वास व्यक्त गरे।

सरकारले बुधवार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने योजना बनाए पनि माओवादी केन्द्रको असहमतिका कारण रोकिएको थियो। माओवादीले जबरजस्ती एमसीसी प्रतिनिधिसभामा अघि बढाए सरकार र गठबन्धन छाड्ने चेतावनी दिएपछि हिजोको बैठकमा एमसीसी पेश भएन।

प्रतिनिधिसभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ। भोलि एमसीसी पेश गर्ने कांग्रेसले बताउँदै आएको छ। यसै विषयलाई लिएर अहिले गठबन्धनमा छलफल जुट्दैछ।

गठबन्धनमा रहेको कांग्रेस एमसीसीकीको पक्षमा छ। तर, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनमोर्चा अहिलेकै स्वरुपमा एमसीसी पारित गर्ने पक्षमा छैनन्। जनता समाजवादीले भने आफ्नो मत सार्वजनिक गरिसकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell