काठमाडौं : निर्वाचन आयोगले मतपत्र छपाईको लागि आवश्यक पर्ने कागज खरिद प्रक्रिया अगाडि बढाएको छ। मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज 'पेपर फर व्यालेट पेपर'को विनिर्देशन (स्पेसिफिकेशन) र लगत अनुमान गरि ई-बिडिङ को माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
त्यस्तै आयोगले मतदान केन्द्रमा प्रयोग हुने सामाग्रीकोसमेत विनिर्देशन स्वीकृत गरेको छ। आयोगले मतदान केन्द्रका लागि ५३ सामाग्रीको सूची समेत तयार गरेको छ।
त्यस्तै, जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोक्ने गरी न्याय परिषद्सँग परामर्श गर्ने र अन्य सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्ने प्रक्रियाका लागि न्याय सेवा आयोगसँग परामर्श गर्ने समेत आयोगले जनाएको छ। आयोगले फागुन १५ सम्ममा आयोगमा न्यायाधीश तथा कर्मचारीको नामावली उपलब्ध गराउनसमेत कानुन न्याय संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता शर्माले जानकारी दिए।
निर्वाचन अधिकृतमा नियुक्त गर्न राजपत्रांकित द्वीतिय श्रेणीका अधिकृतहरुको नाम उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयालाई समेत आयोगले अनुरोध गरेको छ।
त्यस्तै, स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा अनुरोध गरेको समेत उनले जानकारी दिए।