
काठमाडौं : आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ। तीन जना एआइजीको दरबन्दी थप गर्ने निर्णय भएको हो।
कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले एआइजीको दरबन्दी थप गर्ने निर्णय भएको बताए।
प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अध्यायन गरेर गृह मन्त्रालयले एआईजी थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो।
हाल नेपाल प्रहरीमा प्राविधिक सहित ६ जना एआईजीको दरबन्दी छ। हाल एआईजीमा हरिबहादुर पाल, प्रधुम्न कार्की, निरजबहादुर शाही, विश्वराज पोखरेल, सहकुल थापा र प्राविधिक तर्फ डा आशा सिंह छन्।
एआईजी थप गरेपछि हाल प्रहरीभित्र रहेका विभाग र ब्युरोमा डीआईजीको ठाउँमा एआईजी राख्ने तयारी भइरहेको छ। तीन वटा दरबन्दी थप गर्ने निर्य भएसँगै अब नेपाल प्रहरीमा एआईजीको संख्या ९ पुगेको छ। नेपाल प्रहरीमा दरबन्दी थप गरेर १६ जनासम्म एआईजी पुगेको रेकर्ड छ।
दरबन्दी थप हुने भएसँगै एआइजी बढुवामा दौडधुप पनि सुरु भइसकेको छ। एआइजी बढुवामा डीआईजी धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, ईश्वरबाबु कार्की लगायत १२ भन्दा बढी आकांक्षी छन्।