बुटवलः रूपन्देहीको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि सुरु हुने ‘क्यालिब्रेसन फ्लाइट’ का लागि थाइल्याण्डबाट एरो थाईको जहाज बिहीबार साँझ विमानस्थलमा आइपुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ। विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि शुक्रबारदेखि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको बताए।
निर्धारित समयभन्दा चार वर्ष ढिलो निर्माण सम्पन्न भएको विमानस्थलमा उपकरण जडान गर्ने जिम्मेवारी पाएको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले विशेष विमान ल्याएर क्यालिब्रेसन फ्लाइट गर्न लागेको हो।
एरो थाईको जहाज बिहीबार दिउसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो। विमानस्थलमा भोलिदेखि फागुन १५ गते आइतबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ। एरो थाईको जहाजमा पाइलट, को–पाइलट र विशेषज्ञ टोलीसहित सात जनाको टिम आएको छ। एरो थाईकै इन्जिनियरले विमानस्थलमा जोडिएका उपकरणको परीक्षण गर्नेछन्।
क्यालिब्रेसन फ्लाइटका लागि मौसम सफा चाहिन्छ। विमानस्थलबाट हुने नियमित उडानको तालिकालाई फागुन १५ गतेसम्म साँझ साढे ५ बजेपछि सारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए।
काठमाडौंबाट गौतमबुद्ध विमानस्थल २९० किलोमिटर टाढा छ। विमानस्थल आईसीपी ‘वान’ र आईसीपी ‘टु’ गरी दुई चरणमा निर्माण भएको हो। आईसीपी वान अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका हुन् । आईसीपी ‘टु’ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भएको छ।
क्यालिब्रेसन फ्लाइट, परीक्षण उडानलगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी बुद्ध पूर्णिमाको दिन आगामी जेठ २ गतेबाट विमानस्थल नियमित सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ। ६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नती भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन आउन लागेको हो।
भैरहवाबाट आन्तरिकतर्फ काठमाडौँ, पोखरा र भरतपुरका लागि २२ वटा नियमित उडान हुने गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ। कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ।
विमानस्थलमा तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ। त्यस्तै पाँच वटा अन्तर्राष्ट्रिय उडानका जहाज पार्किङ गर्न मिल्ने एप्रोन बनाइएको छ। आन्तरिक उडानका लागि छुट्टै पार्किङ निर्माण गरिएको छ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैया“मा विमानस्थल निर्माणको ठेक्का लिएको थियो।