काठमाडौं : चिसो घटेर मौसम जसरी तातो बनेको छ, अहिले सत्तारुढ दललाई एमसीसीले झन् तताएको छ। अझ सत्तामा सहभागी दलहरु पाँचतिर फर्कँदा बालुवाटार निकै गर्माएको छ।
अमेरिकी सहयोग नियोग- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको डेडलाइन फागुन १६ सम्म भएकाले पनि सहमति नजुट्दा उनीहरुका लागि यो 'तातो आलु' बनेको छ। अमेरिकाले यो समयभित्र संसदबाट अनुमोदन नगरे ५०० मिलियन डलर अनुदान गुम्छ भन्दै शीर्ष नेताहरुलाई सम्झाइसकेको छ।
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस एकमत छ- एमसीसी देशको हितमा छ, सदनमा लैजाऊ अनि अनुमोदन गरौं। सत्ताको सहयात्री दल माओवादी केन्द्रको अडान छ- यथास्थितिमा एमसीसी अनुमोदन हुन सक्दैन। एकीकृत समाजवादी एमसीसी पास गर्न नहुने पक्षमा उभिँदा जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पास गर्ने पक्षमा उभिएका छन्। यद्यपि जसपाले माओवादी र एकीकृत समाजवादीको औपचारिक निर्णय पर्खेको छ। जनमोर्चाले एमसीसीलाई राष्ट्रघाती भनिसकेको छ।
फनफनी घुमाउँदै प्रचण्ड-माधव
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी रुपमा लागेका छन् एमसीसी संसद्मा लैजान। बुधवारको संसदमा जसरी पनि सदनमा एमसीसी टेबल गराउने तयारी गरेका थिए। यसैअनुरुप केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिबाट एकमत भयो कांग्रेस।
तर संसद नचल्दै नयाँ बानेश्वरमा माओवादी कार्यकर्ता उत्रिए। प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी पर्यो। पानीको फोहरा र लाठीले पनि माओवादी कार्यकर्ता नगलेपछि सदनमा एमसीसी टेबल हुन सकेन। यसो त माओवादी कार्यकर्ता सडकमा उत्रिँदै गर्दा बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच संसदमा एमसीसी टेबल नहुने सहमति भइसकेको थियो। एमसीसी सदनमा टेबल गर्नेबारे थप छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय मागे। बिहीबार गठबन्धनको बैठक बालुवाटारमा डाकियो। साँझ ५ बजे बैठक शुरु भयो। तर साँझ साढे ७ बजेसम्म चलेको बैठकमा गठबन्धनका शीर्ष नेताहरु टस न मस भए।
शुक्रबार १ बजेका लागि संसद डाकिएको छ। बैठकमा सम्भावित कार्यसूचीमा प्रधानमन्त्री देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेश गर्नेबाहेक अरु कुनै विषय छैन। यद्यपि सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको बैठकमा एमसीसी टेबल गराउन प्रस्ताव गरे। प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले थप समय मागे। जनता समाजवादीले माओवादी र एकीकृत समाजवादीको निर्णय कुर्ने जवाफ दिए। यसअघि तीन दलको बैठक सिंहदरबारमा बसेको थियो। उक्त बैठकपछि प्रचण्डले गठबन्धन जोगाउन आफू लागेको प्रतिक्रिया दिए।
प्रचण्ड-माधव तर्साउँदै देउवा
एमसीसी अनुमोदनको समय घर्किन लाग्दा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्पष्ट हुन सकेका छैनन्। बाहिर कार्यकर्तालाई सडकमा उतारेर माओवादी भित्रभित्र देउवालाई थप समय मागिरहेको कांग्रेस नेताहरुको आरोप छ। 'प्रचण्डले पर्खपर्ख भनेर शुक्रबार (आज) का लागि संसद् सारिएको छ। केही दिन हेरौं प्रचण्डको रवैया,' कांग्रेसका एक पदाधिकारीले भने। प्रचण्डको डबल रोल प्रष्ट भएपछि मात्र कांग्रेसले गठबन्धनबारे निर्णय गर्ने ती पदाधिकारीको दाबी थियो।
यता माधव नेपालले भने शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक रहेकाले आइतबारसम्मका लागि समय मागेका छन्। बिहीबार बसेको सर्वदलीय बैठकमा नेपालले समय मागेको कांग्रेस महामन्त्री गगन थापाले बताए। 'बैठकमा माधव नेपालले ७ गते पार्टीको बैठक छ। एमसीसी सदनमा लैजान ८ गतेसम्म समय दिनुपर्छ भन्नुभयो,' महामन्त्री थापाले भने। यसअघि प्रचण्ड र अहिले माधवले समय मागेर फनफनी घुमाउन थालेपछि कांग्रेस सशंकित बनेको छ।
यसैले होला देउवाले बिहीबारै कांग्रेस नेता डा. मीनेन्द्र रिजाललाई पठाए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट। बालकोटमा के कति कुरा भयो त्यसबारे रिजालले केही पनि सार्वजनिक गरेका छैनन्। यद्यपि यो भेटलाई थप सुमधुर बनाउन देउवा बिहीबार राति पौने ९ ओली निवास बालकोट पुगे।
बालकोटमा देउवा आरजु राणासहितपुगेको तस्बिर केहीबेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो। बालकोटबाट प्रधानमन्त्री देउवा सवा १० बजे बाहिरिए। बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन मानेनन्। यसो त प्रचण्ड-माधवसँग के गर्ने भन्ने प्रष्ट लाइन नआएसम्म कांग्रेसले एमालेसँगको वार्तालाई गोप्य नै राख्ने नीति लिएको बताइन्छ।
थप छलफल आज
गठबन्धनको हिजोको बैठकमा सहमति जुट्न नसकेपछि सत्तारुढ दलका शीर्ष नेताहरु आज बिहान १० बजे बालुवाटारमा पुन जुट्दैछन्। तीन घण्टा चलेको बैठकमा महत्वपूर्ण कुरा भए पनि अझ छलफल गर्नुपर्ने आवश्यकता देखेकोले आजको लागि बैठक डाकिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाए। 'संसदलाई कसरी अगाडि बढाउने, एमसीसीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो। भोलि १० बजे फेरि बस्ने गरि सकिएको छ,' बिहीवार साँझ प्रवक्ता कार्कीले बैठकबारे जानकारी दिए।
प्रवक्ता कार्कीले एमसीसी सदनमा टेबल हुने प्रक्रियामा गइसकेको र प्रधानमन्त्री देउवाले पनि बेलैमा संसदमा टेबल गर्नुपर्ने प्रस्ताव बैठकमा राखेको उल्लेख गरे। गठबन्धनको बिहीबारको बैठकलाई कतिपयले सत्तारुढको अन्तिम बैठक भनिएको थियो। यद्यपि दलहरुबीच एमसीसीको बारेमा अझै निर्णायक वार्ता भइनसकेकाले अझै यही होला भन्न सकिने अवस्था देखिँदैन। कांग्रेसका कतिपय नेताहरुले भने माओवादी र एकीकृत समाजवादीले धोका दिए उनीहरुसँगको गठबन्धन तोडेर एमालेसँग मिल्दै अघि बढ्नुपर्ने धारणा राख्न थालेका छन्।