PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

थपिए तीन दल, रेशम-पत्नीको नागरिक उन्मुक्तिदेखि हृदयेशको पार्टीलाई आयोगले गर्‍यो दर्ता



पहिलोपोस्ट

थपिए तीन दल, रेशम-पत्नीको नागरिक उन्मुक्तिदेखि हृदयेशको पार्टीलाई आयोगले गर्‍यो दर्ता

काठमाडौं : निर्वाचन आयोगले थप तीन पार्टी दर्ता गर्ने निर्णय गरेको छ। दल दर्ताका लागि आएका निवेदनका आधारमा आयोगले निर्णय गरेको हो। योसँगै आयोगमा अद्यावधिक भएका दलहरुको संख्या १०६ पुगेको छ। 

'नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा राजनीतिक दल दर्ता गरिएको छ। यसपछि आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ,' आयोगले जारी विज्ञप्ति जारी गर्दै भनेको छ। 

आयोगले दर्ता गरेको दल जनता प्रगतीशील पार्टी हृदयेश त्रिपाठी नेतृत्वको पार्टी हो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर विजयी भएका त्रिपाठी ओली नेतृत्वको सरकारमा समेत केही समय स्वास्थ्यमन्त्री बनेका थिए। 

उनले मंसिर २८ गते नयाँ राजनीतिक दल घोषणा गरेका गरेका थिए। उनीसँगै वृजेशकुमार गुप्ता पनि सूर्य चुनाव चिह्नबाट विजयी भएका थिए। त्यस्तै लुम्बिनीका प्रदेशसभा सदस्य अजय शाही र धर्मलाल श्रीवास्तव पनि निर्वाचित भएका थिए। सामाजिक लोकतन्त्र र मधेशी अधिकारसहित मध्यपन्थी विचारधारा अँगाल्ने यो दलले बताएको छ। 

त्यस्तै सीबी  गहतराज नेतृत्वको सामाजिक एकता पार्टी पनि आयोगमा दर्ता भएको छ। धर्मनिरपेक्षता भई संविधानको रक्षा गर्ने लक्ष्य राखेर पार्टी स्थापना गरिएको अध्यक्ष गहतराजले बताएका छन्। 

आयोगले नागरिक उन्मुक्ति पार्टीलाई पनि दर्ता गर्ने निर्णय गरेको छ। यो पार्टी टीकापुर घटनाको दोषीको रुपमा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाईमा खुलेको पार्टी हो। पार्टीको अध्यक्ष चौधरी-पत्नी रञ्जिता श्रेष्ठ चौधरी छन्। 

कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर भएपछि कैद भुक्तानका लागि कारागारमा छन्। घटनापछि उनी भूमिगत थिए। भूमिगत अवस्थामै वारिसबाट उम्मेदवारी दिएर उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी जनता समाजवादी पार्टीको कार्यकारी सदस्य थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell