
काठमाडौं : एमसीसीको विरोध र समर्थनमा सडक तात्न थालेपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउँदै लगेको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीसँगको सम्झौता टेबल हुन सक्ने अनुमान छ। यद्यपि कार्यसूचीमा यसलाई राखिएको छैन।
एमसीसी संसदबाट पारित हुन सक्ने भन्दै यसको विपक्षमा रहेका दलका कार्यकर्ता विरोधमा छन्। यसअघि बुधबार पनि नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। आज पनि प्रदर्शन चर्किन सक्ने अनुमान गरी प्रहरीले काठमाडौंमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
आज बिहान मात्र काठमाडौंको ढुङ्गेअड्डामा एमसीसीको विरोध गर्दै राखिएको शंकास्पद वस्तु फेला परेको थियो। झोलामा कुकर राखेर मानिसलाई तर्साउन खोजिएको प्रहरीले जनाएको छ।
'आज बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएका छौं। कुनै पनि अप्रिय घटना नहोस् भन्ने हिसाबले सुरक्षा रणनीति बनाएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने। काठमाडौंमा मात्र नेपाल प्रहरीले २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। त्यस्तै शसस्त्र प्रहरी पनि उतिकै संख्यामा खटाइएको छ।
संसद भवनलाई मुख्य सुरक्षा योजनामा पारेर सुरक्षाकर्मी खटिएका छन्।