PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

ठेकेदार सम्पर्कमा नआउँदा हेटौंडामा 'प्रदेश मुख्यमन्त्री सभाहल' को काम अलपत्र, घाँसे मैदान बन्यो निर्माणस्थल



निशा गुरुङ

ठेकेदार सम्पर्कमा नआउँदा हेटौंडामा 'प्रदेश मुख्यमन्त्री सभाहल' को काम अलपत्र, घाँसे मैदान बन्यो निर्माणस्थल

हेटौंडा : प्रदेश तथा जिल्लास्तरका सरकारी कार्यालयका सभा सम्मेलन तथा गोष्ठी आफ्नै सभाहलमा गर्ने उद्देश्यका साथ वाग्मती प्रदेशको राजधानीमा निमार्णाधीन  ‘वाग्मती  प्रदेश मुख्यमन्त्री सभाहल’ को काम रोकिएको छ। ठेकेदार सम्पर्कमा नआउँदा सभाहलको काम अलपत्र परेको हो।

आउँदो बैशाख १९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी संरक्षण सेभ जेभीले २०७७ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको थियो। तर, १५ महिनामा १५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

वाग्मती  प्रदेश सरकारले ५ करोड २६ लाख रुपैयाँको लागतमा सभाहल निर्माण गर्न ठेक्का दिएको थियो। कुल लागतको २० प्रतिशत भुक्तानी लिएको निर्माण कम्पनीले भने निर्माण सम्पन्न गर्न ३ महिना बांकी रहँदा काममा भने चासो देखाएको छैन।

शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख राजेश पौडेलले पटकपटक ठेकेदारलाई सम्पर्क गरेर काम सुरु गर्न सचेत गराउने प्रयास गरेको बताए। तर, तीन पटकसम्म ठेकेदार कम्पनी संरक्षण सेभ जेभीलाई सम्पर्कमा आउन आग्रह गर्दा पनि ठेकदार सम्पर्कमा नआएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका इन्जिनियर महोब्वत फिरोज अलीले सभाहललाई समयमा नै सम्पन्न गर्न कार्यालयको तर्फबाट खबरदारी गर्ने काम निरन्तर भएकाले म्याद भित्र निर्माण कार्य सम्पन्न नगरे कारवाही प्रक्रिया अघि बढाउने बताएका छन्।

चितवनका ठेकेदार भिष्म अधिकारीले कोभिड १९ महामारीको जोखिम नभएको समयमा पनि काम नगरेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो दिएको छ।

हेटौंडा उपमहानगरको खाली जमिनमा ४ सय जनासम्म अट्ने सुविधासम्पन्न सभाहल निर्माण गर्न एक वर्षअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए। ठेक्का सम्झौता भएपश्चात १५ महिनामा निर्माण कम्पनीले भवन निर्माणस्थलमा जग हालेर छोडेको छ।अहिले सभाहलमा निर्माण स्थलमा घाँस उम्रेर घाँसे मैदान भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell