काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा दलहरुले प्रष्ट विचार राख्नु पर्ने बताएका छन्। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद बढिरहेको बेला चितवन पुगेका उनले संचारकर्मीसँग कुराकानी गर्दै दलहरुले एमसीसी बारे कुरा फेरिरहेको आरोप लगाएका छन्।
उनले दलहरुले एमसीसीका बारेको स्पष्ट धारणा राख्नुपर्ने भन्दै भने, ‘संसदमा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्यो।’
एमसीसीलाई लिएर अहिले सत्तारुढ गठबन्धनमा मतभेद बढ्दै गएको छ। कांग्रेस एमसीसी संसदमा पेश गर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दलहरु विपक्षमा छन्। बिहीवार र शुक्रवार बिहान बसेको गठबन्धनको बैठकले एमसीसी बारे कुनै निष्कर्ष निकाल्न सकेन। अर्को बैठक फागुन ८ गतेका लागि बोलाइएको छ।
महतले गठबन्धमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छु भन्दै प्रधानमन्त्री देउवासँगै पत्र पठाएको स्मरण गराएका छन्।
‘प्रचण्डले एमसीसी पास गर्छौं भने हस्ताक्षर गरेका हैनन् र?’ उनको प्रश्न थियो।
महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी संसद्मा लैजान खोजिएको बताए। तर सत्ता बाहिर पुगे पछि एमालेले कुरा फेरिरहेको उनको आरोप छ।
‘एमसीसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा। आज ठीक भोलि बेठीक। सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ?’ उनले प्रश्न गरे।
महतले सभामुख अग्नि सापकोटासँग संसदमा कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको समेत बताए। ‘एमसीसीबारे निर्णय लिने सार्वभौम संसद्को अधिकार हो’ उनले भने।
‘एमसीसी र गठबन्धन फरक कुरा हो’
सत्ता गठबन्धनका नेतामाथि नै प्रश्न उठाएका महतले एमसीसी र गठबन्धन भने फरक विषय भएको बताएका छन्। महतले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको समेत बताए।
उनले कांग्रेसले एमसीसीलाई संसदमा लगेर छलफल गर्ने बारेमा प्रयास गरिरहेको बताएका हुन्। उनले आफूहरु गठबन्धन फुटाउने पक्षमा भने नभएको बताए।
‘ कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो। गठबन्धन टुट्नु पर्छ भनेको छैन’ उनले भने।
उनले एमसीसी परियोजना पारित गर्न प्रयास गर्नु देशद्रोह नभएको समेत बताएका छन्।
‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देशद्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन्। किन हिच्किचाहट भएको छ?’