PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमसीसीकै किचलोका बिच प्रतिनिधि सभा बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित



पहिलोपोस्ट

एमसीसीकै किचलोका बिच प्रतिनिधि सभा बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच करिब १० मिनेट बसेर बैठक स्थगित भएको हो।

प्रतिनिधि सभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन पेश गर्ने विषयमा सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि आजको बैठक कार्यसूचीमा प्रवेश गरेर स्थगित गरिएको हो। आजको बैठकमा कानुन मन्त्री दिलेन्द्र बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन सदनमा पेश गरेका थिए।

एमसीसीलाई लिएर अहिले सत्तारुढ गठबन्धनमा मतभेद बढ्दै गएको छ। कांग्रेस एमसीसी संसदमा पेश गर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दलहरु विपक्षमा छन्। बिहीवार साँझ र शुक्रवार बिहान बसेको गठबन्धनको बैठकले एमसीसी बारे कुनै निष्कर्ष निकाल्न सकेन। गठबन्धनको अर्को बैठक फागुन ८ गतेका लागि बोलाइएको छ। प्रतिनिधि सभाको अर्को बैठक पनि फागुन ८ मै बोलाइएको हो।

गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले अहिले कै अवस्थामा एमसीसी पारित गर्न नसक्ने बताउँदै आएको छ। उसले जबरजस्ती एमसीसी पेश भए सरकार र गठबन्धनबाट बाहिरिने चेतावनी दिइसकेको छ। यता, नेकपा एकीकृत समाजवादीले फागुन ७ गते बस्ने बैठकले एमसीसीबारे आधिकारिक धारणा बनाउने बताएको छ। जनता समाजवादी पार्टीले पनि एमसीसीबारे खुलेर बोलेका छैनन्। जसपाका संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसीको पक्षमा छन्। तर, जसपाले उक्त विचार बाबुरामको व्यक्तिगत विचार भएको भन्दै पार्टीले अहिले नै एमसीसीबारे निर्णय नगरेको बताइसकेको छ। राष्ट्रिय जनमोर्चा पनि एमसीसीको पक्षमा छैन। 

एमालेले पनि एमसीसी बारे आफ्नो मत प्रष्ट बनाएको छैन। गठबन्धनमा कुरा नमिलेपछि बिहवार राति नै प्रधानमन्त्री र शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। उक्त भेटमा देउवाले एमसीसीलाई लिएर एमालेको साथ खोजेको बताइन्छ। तर, देउवा र ओलीले भेटमा भएको कुराकानीबारे केही खुलाएका छैनन्।  एमालले आफूले गरेको सांसदलाई कारवाही सदर हुनुपर्ने माग सहित सदन अवरुद्ध गर्दै आएको छ। आजको बैठकमा पनि एमालेले सांसदलाई कारवाही र सभामुखको विरुद्ध नारा लगाउँदै बैठक अवरुद्ध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell