PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रचण्डपछि माधव नेपालको निर्णय कुर्दै कांग्रेस : गठबन्धन रहिरहन्छ या शक्तिमा फेरि केपी ओलीको हुन्छ उदय?



नेत्र तामाङ

प्रचण्डपछि माधव नेपालको निर्णय कुर्दै कांग्रेस : गठबन्धन रहिरहन्छ या शक्तिमा फेरि केपी ओलीको हुन्छ उदय?

काठमाडौं : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्नैपर्ने मिति जति नजिकिएको छ, त्यत्तिकै रफ्तारमा चलिरहेको छ दलहरु बिचको रस्साकस्सी। दलहरुबिच यस विषयमा छलफल बाक्लिए पनि सहमति जुट्ने संकेत देखा परिसकेको छैन।

एमसीसी परियोजना अनुमोदन गर्नैपर्ने पक्षमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा एकमत छ। तर, सत्ता साझेदार अन्य दलभित्र यसलाई लिएर यति धेरै ध्रुविकरणको खाडल बढेको छ कि उनीहरु पूर्ववत सहमतिमा अडिन सकेका छैनन्। सत्तारुढ गठबन्धनबिच यसैलाई लिएर छलफल जारी राख्नेझ सहमति त भएको छ तर त्यसले एकमुष्ठ निकास निकाल्ने विश्वास धर्मराएको छ। सत्तारुढ दलका नेताहरु सामुहिक रुपमा मात्र होइन, 'वान अन वान' वार्तामा सक्रिय छन् - फरकफरक स्थानमा फरकफरक दलका नेताहरुबिच पनि बैठक चलिरहेकै छ। बिहीवार सिंहदरवारमा कांग्रेसबाहेक सत्तारुढ दलको बैठक बसेको थियो। शुक्रवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पनि कांग्रेसबाहेकको बैठक बस्यो यसै विषयलाई लिएर।

आफूबाहेक सत्ताधारी दल एमसीसीमा सहमतिमा नआउँदा संसदमा यो परियोजना टेवल गराउन समेत हम्मे परिरहेको छ कांग्रेसलाई।
एमसीसी फागुन १६ गतेभित्र संसदबाट पारित गराउनपर्ने भएपछि कांग्रेस अन्तिम समयमा मात्र कडा अडानसहित उत्रिएको हो। माघ २७ गते कार्यसम्पादन समितिको बैठक थालेको कांग्रेसले फागुन ३ गते एमसीसीबारे प्रष्ट धारणासहित उत्रियो। 

विवादकै बिचको बालुवाटार बिहीवारको गठबन्धन बैठक। फोटो : रासस


यसअघि एमसीसीबारे भ्रम चिर्न भन्दै कांग्रेसले कार्यसम्पादन समितिमा पूर्व अर्थमन्त्री डा रामशरण महतमार्फत् पाठ पढायो भने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् एमसीसी टाइमलाइन बाँढ्यो। तिनै कुरा समेटेर कांग्रेस कार्यसम्पादन समितिको १० पन्ने विज्ञप्ति आयो जसमा ७ पन्ने त एमसीसीबारे प्रष्टिकरण थियो। यद्यपि, केन्द्रीय समितिको बैठक नराखेकोमा कतै गल्ती पो भएको हो कि भन्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफैँमाथि असन्तुष्टि पनि पोखे। बिहीवार नेता अर्जुननरसिंह केसीको किताब विमोचन गर्दै देउवाले यस्तो बताएका हुन्। 

त्यसयता खुलेरै कांग्रेसले विभिन्न माध्यमबाट एमसीसी देशकै हितमा रहेको दाबी गर्दै प्रचार थालिसकेको छ। तर, सत्तामै रहेको माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले भने यसबारे दोधारे नीति देखाउन थालेको कांग्रेसको आरोप छ। माओवादीले महाधिवेशनबाटै एमसीसी यथास्थितिमा पारित गराउन हुँदैन भनेर निर्णय गरिसकेको छ। यही अडान दोहोर्‍याउँदै पछिल्लो छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयलाई चुनावपछि सार्न आग्रह गरेका थिए। तर, कांग्रेसले तुरुन्तै संसदमा एमसीसी टेवल गराउने पहल थाल्यो।

त्यसपछि फागुन २ का लागि बोलाइएको बैठक ४ गतेका लागि सारियो। एमसीसी टेवल हुने अवस्था देखिएपछि फागुन ४ गते बिहान प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटे। नयाँ बानेश्वरस्थित संसद भवन बाहिर माओवादी कार्यकर्ता एमसीसीको विरोधमा उत्रिसकेका थिए। प्रहरीसँग घम्साघम्सी भएकै बेला एमसीसी संसदमा टेवल नहुने सहमति भयो देउवा र प्रचण्डबिच। सँगै प्रचण्डले यसबारे थप छलफल गर्न समय मागे। गठबन्धनका शीर्ष नेताबिच ५ गते साँझ बैठक बस्ने निधो भयो।

प्रचण्डले ‘पर्खपर्ख’ भनेर नै शुक्रवारका लागि संसद् सारिएको कांग्रेसका एक पदाधिकारीको दावी थियो। यद्यपि, शुक्रवारको बैठकमा पनि एमसीसी टेवल भएन।

प्रचण्डपछि पालो माधव नेपालको
एमसीसी सदनमा टेवल गर्नेबारे थप छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समय मागेको माग्यै छन्। कांग्रेस नेताहरुको भनाईमा फागुन ४ गतेपछि दुई दिनको समय मागेका थिए प्रचण्डले। बिहीवार गठबन्धनको बैठक बालुवाटारमा डाकियो। साँझ ५ बजे बैठक सुरु भयो। साँझ साढे ७ बजेसम्म चलेको बैठकमा गठबन्धनका शीर्ष नेताहरु 'टस न मस' भए। बैठकमा माओवादीले आफ्नो पुरानो अडान दोहोर्‍यायो। जनता समाजवादी पार्टी पनि एमसीसीलाई लिएर बैठकमै विभाजित देखियो।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यसबारे निर्णय लिन थप समय मागे। शनिवार आफ्नो पार्टीको स्थायी कमिटी डाकेर यसबारे छलफल गर्ने जानकारी दिँदै नेपालले आइतवारसम्मको समय मागेका थिए। 'बैठकमा माधव नेपालले ७ गते पार्टीको बैठक छ। एमसीसी सदनमा लैजान ८ गतेसम्म समय दिनुपर्छ भन्नुभयो,' कांग्रेस महामन्त्री गगन थापाले बिहीवार साँझको बैठकपछि भने। बैठक भोलिपल्ट बिहान १० बजे बस्नेगरि स्थगित भयो।

नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता एमसीसीको विरोधमा उत्रिँदाको दृश्य।


 शुक्रवार बिहान १० बजे सत्तारुढ दलको बैठक बालुवाटारमा बस्यो। बिहान बसेको बैठकले गठबन्धनको अर्को बैठक एकीकृत समाजवादी पार्टीले मागेको समयअनुसारकै मितिमा तय गर्‍यो। 

'सत्तारुढ दलका शीर्ष नेताहरुको अर्को बैठक फागुन ८ गते बिहान १० बजे बस्ने निर्णय भएको छ,' बालुवाटारबाट निस्कँदै गर्दा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

शुक्रवार संसद थियो। १ बजे बसेको संसद प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बिच कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेश गर्नसाथ सकियो। बैठक फागुन ८ गतेसम्मका लागि स्थगित भयो।

एमसीसीमा ओलीसँग पनि छलफल जारी
एमसीसीकै कारण सत्तारुढ दलमा गढबढी भएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। एमालेले आफूले कारवाही गरेका सांसदलाई हटाउनुपर्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै संसद अवरोध जारी राखेको छ। माओवादी केन्द्रले एमसीसी पेश गर्ने भए संसद खुलाउनु पर्ने माग अघि सारेको छ। संसद खुलाउन देउवाले यसअघि पनि ओलीसँग बालुवाटारमा छलफल गरेका थिए। बिहीवार दिउँसो नेता मीनेन्द्र रिजाललाई भेट्न पठाएका देउवा साँझ आफैँ ओली निवास बालकोट पुगे।

ओली निवास बालकोटमा प्रधानमन्त्री देउवा।


बालकोटमा के कति कुरा भयो, रिजालले पनि केही सार्वजनिक गरेका छैनन्। बालकोटमा देउवा र ओलीबिचको कुराकानी पनि बाहिरिएको छैन। यति चाहिँ पक्का हो एमसीसीलाई लिएर सत्ता र सत्ताइतर दुवैमा सरगर्मी बढेको छ। देउवालाई थप कुराउनेमा प्रचण्डपछि माधवकुमार नेपालले समय लिएका छन्।

सत्तारुढ दुई प्रमुख दलका नेताले लिएको डेडलाइन आइतवार सकिँदैछ। साथै देउवासँग एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्ने हो भने सम्भावित राजनीतिक परिदृश्यको 'ब्लु प्रिन्ट' के हुन्छ भन्ने पक्कै मागेका छन्। त्यसैले यतिखेर एमसीसी पक्षधर कांग्रेस, एमसीसीलाई अल्झाउन चाहने प्रचण्ड र माधवकुमार नेपाल तथा गठबन्धन फुटाएर पुन: शक्तिको केन्द्रमा फर्किने तीब्र आकांक्षामा बसेका केपी शर्मा ओलीबिचको त्रिकोणीय रस्साकस्सी सबैको चासोको विषय बनेको छ। त्यसैले नै निर्देशित गर्नेछ नेपाली राजनीतिको भावि दिशा। यही राजनीतिक रस्साकस्सीबाट के परिणाम आउँछ त्यो चाहिँ प्रतीक्षाकै विषय बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell