PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

गौतमबुद्ध विमानस्थलमा सुरु भयो क्यालिब्रेसन फ्लाइट, जेठ २ गतेदेखि व्यावसायिक उडान



रमेश पराजुली

गौतमबुद्ध विमानस्थलमा सुरु भयो क्यालिब्रेसन फ्लाइट, जेठ २ गतेदेखि व्यावसायिक उडान

बुटवलः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु भएको छ।

क्यालिब्रेसन फ्लाइटको लागि बिहीबार आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) १७ सिटे सानो जहाजले शुक्रबार दिउँसोदेखि परीक्षण उडान थालेको हो। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डदेखि नै ७ सदस्यीय प्राविधिक टोली आएको छ।

विशेष उपकरण जडित एरो थाई जहाजले विमानस्थलको यान्त्रिक परीक्षण गर्नेछ। एरो थाइले फ्लाइट गरिसकेपछि टेस्ट फ्लाइट नेपाल एयरलाइन्सको ३३० जहाजले गर्नेछ। त्यसपछि मात्रै व्यावसायिक उडान सुरु हुनेछ।

विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार शुक्रबारदेखि सुरु भएको क्यालिब्रेसन फ्लाइट फागुन १५ गतेसम्म जारी रहनेछ। क्यालिब्रेसन फ्लाइट लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठ २ गते बुद्ध पूर्णिमाको दिनबाट विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने गरि तयारी गरिएको छ। 

विमानस्थलको परीक्षण उडान सुरु भएपछि यस क्षेत्रका पर्यटन व्यवसायी पनि खुसी भएका छन्। विमानस्थल सञ्चालनमा आएसँगै विश्वका विभिन्न मुलुकका पर्यटकहरुलाई लुम्बिनी क्षेत्रमा आउन सहज हुनेछ। यही विमानस्थललाई देखेर रुपन्देहीमा अर्बौं लगानीमा तारे होटल निर्माण भइरहेका छन्। यो सँगै अबका दिनमा पश्चिम नेपालका नागरिकहरुलाई विश्वका विभिन्न देश जान काठमाडौँ जानैपर्ने बाध्यता हट्नेछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ। ६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नती भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन आउन लागेको हो। भैरहवाबाट आन्तरिकतर्फ काठमाडौं, पोखरा र भरतपुरका लागि २२ वटा नियमित उडान हुने गरेको छ।

विमानस्थल आईसीपी ‘वान’ र आईसीपी ‘टु’ गरी दुई चरणमा निर्माण भएको हो। आईसीपी वान अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका हुन्। आईसीपी ‘टु’ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भएको हो।

कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थलमा तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ। २०७१ सालमा शिलान्यास भएको विमानस्थल साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो। तर, भूकम्प, नाकाबन्दी, मधेश आन्दोलन र कोरोना महामारीलगायत विभिन्न कारणले विमानस्थल निर्माणमा केही ढिलाइ भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell