PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग: सत्यवती र होलील्याण्ड विजयी



पहिलोपोस्ट

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग: सत्यवती र होलील्याण्ड विजयी

धनगढीः मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलील्याण्ड विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जीत दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनायो। उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले। ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र ५ चौकाको मद्दतमा ८० रन बनाए। सन्दीप खत्रीले १२ बलमै ६ छक्का र ४ चौककाको मद्दतमा अर्धशतकीय आक्रामक पारी खेले। त्यस्तै सुजन गौतमले २७ बलमा ४५ रन बनाए। गुरुकूलका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान २/२ विकेट लिए।

२१० रनको विजयी लक्षसहित मैदान उत्रेको गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। उसका लागि सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। गुरुकूललाई सस्तैमा समेट्न सत्यवतीका युवराज खत्रीले ३, आदील अन्सारी र सुजन गौतमले समान २/२ तथा सन्दीप खत्री, नीरज भट्ट र सन्तोष कार्कीले १/१ विकेट लिए।

खेलको प्लेयर अफ दि म्याच सन्तोष कार्की घोषित भए।

शुक्रबार नै सम्पन्न दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलील्याण्डसँग ५ विकेटले पराजित भयो। टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनायो। उसका लागि खडक बोहराले ५ चौका र ४ छक्काको मद्दतमा ५१ बलको सामना गर्दै ६९ तथा प्रज्वल थापाले ५१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए। अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन। होलील्याण्डका बलर जीत साउँले ३, सञ्जय बोहराले २ र अविनारायण कोइरालाले एक विकेट लिए। १५८ रनको विजयी लक्ष्य पछ्याएको होलील्याण्डले १७.५ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो। होलील्याण्डका लागि दिपक टमाटाले १८ बलमा ५ चौका र ४ छक्काको आक्रामक पारी खेल्दै ४९ रन बनाए। कृष्ण भट्टले ४२ बलमा नटआउट ४२, गजेन्द्र बोहराले २०, अविषेक पालले १९ र राज विश्वकर्माले १० रन बनाए। बलिङतर्फ सैनिकका खडक बोहराले २ र गौतम केसी तथा हरिस धामीले १/१ विकेट लिए। खेलको प्लेयर अफ दि म्याच होलील्याण्डका कृष्ण भट्ट भए।

प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेलमा बिहान ९:३० बजे काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र अत्तरियाका एभरेस्ट एकेडेमी आमनेसामने हुनेछन्। शनिबार नै दोस्रो खेलमा दिउँसो १:३० बाट विद्याभूषण र गुरुकूल प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell