PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बालकोट भेटमा के भयो देउवा र ओलीबीच कुराकानी?



नेत्र तामाङ

बालकोट भेटमा के भयो देउवा र ओलीबीच कुराकानी?

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति बालुवाटारबाट दलबलसहित बालकोट पुगे। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता (एमसीसी) संसदमा टेबल गराउन सत्ता सठबन्धनका दलबाटै तगारो तेर्स्याएपछि देउवा बालकोट पुगेका बताइन्छ।

सवा ८ मा बालुवाटारबाट निस्केका देउवा राति पौने ९ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे। पत्नी आरजु राणासहित बालकोट पुगेका प्रधानमन्त्री देउवा सवा १० बजे त्यहाँबाट बाहिरिए।

सत्ता पक्षका प्रमुख र प्रतिपक्षका प्रमुखबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ।

भेटमा के कुराकानी भयो?

ओली कार्यकालको चर्को आलोचना गर्ने देउवा उनै ओलीलाई भेट्न पुगेपछि चासो सबैको रहने नै भयो। ओली निवासबाट देउवा निस्कँदै गर्दा यही प्रश्न तेर्स्याउन सञ्चारकर्मीले प्रयास गरे पनि। तर, प्रधानमन्त्री देउवाले न त क्यामेरा फेस गरे न त प्रतिक्रिया नै दिए। जुन देउवाको पुरानै शैली थियो उसैगरी बालकोटबाट बाहिरिए।

मिडियामैत्री नेताका रुपमा चिनिएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीबाट केही आउला कि? सञ्चारकर्मी पर्खेर बसे। तर ओलीबाट पनि भेटबारे कुनै कुरा बाहिरिएन। बरु मिडियालाई दिने कुरा केही भएन भन्दै सचिवालयले बिदाइ गरिदियो सञ्चारकर्मीलाई।

सत्तापक्षको मत 

सत्ता गठबन्धनमा खटपट परिरहेको बेला दुई नेताबिच के कुरा भयो होला त? यसबारे शुक्रबार बिहान सत्तारुढ दलका नेताहरुको बैठकपछि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रश्न गरे सञ्चारकर्मीले।

‘प्रधानमन्त्री र ओलीबीच हिजो के कुराकानी भयो?’ भन्दै गठबन्धनको बैठक आइतबारसम्मका लागि स्थगित भएको जानकारी आउनसाथ सञ्चारकर्मीले सोधे।

'संसदलाई खुलाउनु प्रधानमन्त्रीजीको जति दायित्व हो। संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षी दलका नेताको पनि त्यतिकै दायित्व हो र भूमिका रहन्छ। यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट्नुभएको थियो,' मन्त्री कार्कीले जवाफ दिए।

सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसदमा लान नमानिरहेको अवस्थामा साढे एकघण्टा यतिमात्रै कुराकानी भयो होला त? थप जिज्ञासा तेर्सियो।

'विपक्षी दलको नेताबाट जुन परियोजना छ। यसलाई निष्कर्षमा पुर्‍याउन भूमिका निभाउनुपर्‍यो भनेर दुई नेताबिच विचार विमर्श भयो। जुन सकारात्मक रुपमा सम्पन्न भयो,' यति भनेर पन्छिए कार्की।

यसबारे पार्टीका नेताहरुबीच थप छलफल हुन बाँकी नै छ। यद्यपि, बालुवाटार निकट नेताहरुलाई पक्कै पनि प्रधानमन्त्री देउवाले यसबारे खुलाएका हुन सक्छन् भन्ने पनि छ। तर, देउवाले बालकोट पठाएका नेता डा. मिनेन्द्र रिजाल यसबारे अहिले नै खुल्न चाहदैनन्। माओवादी र एकीकृत समाजवादीसँगको ‘वार या पार’पछि मात्रै बालकोट भेटको रहस्य खुल्ने रिजालको भनाई छ।

यसबारे प्रधानमन्त्रीको सचिवालयले पनि सरकारका प्रवक्ता कार्कीकै भनाईमा हो मा हो थपेका छन्। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले बिहीवारको बालकोट भेटमा एमाले अध्यक्ष ओलीलाई संसद खुलाउन सहयोग गर्न आग्रह गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले सदन अवरुद्ध गर्दै आएको छ। त्यसो त आफ्नो पार्टीबाट फुटेर गएको एकीकृत समाजवादीका सांसदहरुको पद जोगाइदिएको रिस पनि छ एमालेलाई।

कांग्रेसले भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको उक्साहटमा एमालेबाट अलग भएका सांसदहरुलाई सम्भावित घटनाहरुबाट जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग प्रस्तावसमेत संसदमा दर्ता गरिसकेको छ। एमसीसीलाई सदनमा लाने सहमतिमा कांग्रेसले सत्ता गठबन्धनसँग यो सम्झौता गरेको बताइन्छ। तर, अहिले एमसीसीमा प्रचण्ड र माधव नेपालले कांग्रेसलाई फनफनी घुमाउन थालेको छ।

यस्तो अवस्थामा प्रधानमन्त्री देउवा र ओलीको भेट यही सदन खुलाउने र एमसीसीमात्रै सीमित रह्यो होला त? 'सदन खुलाउनुपर्छ। एमसीसी सदनमा टेबल गर्नुपर्‍यो। एमसीसीबारे तपाईंहरुको पनि धारणा राख्नुस्। हामी पनि राख्छौं भनेर प्रधानमन्त्रीज्युले भन्नुभयो। छलफल यही विषयमा केन्द्रित थियो,' प्रधानमन्त्रीका प्रेस प्रमुख परियारले दाबी गरे।

यता शुक्रवारको संसद बैठकपछि कांग्रेसका दुई प्रभावशाली नेताले ओली र देउवाको भेटमा गठबन्धन भत्किनसक्ने सम्म कुराकानी भएको छनक दिएका छन्। कांग्रेस महामन्त्री गगन थापाले कुरा मिलेमा गठबन्धन चलिरहने र नमिले भत्किने भनाई राखे। ‘हाम्रोबिचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ। कुरा मिलेन भने यो गठबन्धन चल्दैन,' थापाको भनाई थियो।

यस्तै, पूर्वमहामन्त्रीसमेत रहेका डा शशांक कोइरालाले पनि प्रधानमन्त्रीसँग अब दुई वटा विकल्प बाँकी रहेको धारणा राखे। कोइरालाको भनाई एमसीसी पास गराउँदा गठबन्धन भत्किनसक्नेतर्फ इंगित थियो।

‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो विकल्प उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ। एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने म देख्छु। गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ। दुई मध्ये एउटा मात्रै हुनसक्छ,’कोइरालाले भने।

एमाले नेताहरुले भने बालकोट भेटमा ओलीले देउवासँग प्रचण्ड र माधव नेपालसँग सम्बन्ध तोडेमा आफूहरुले सोच्न सक्ने बताएको जनाएका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अहिलेको गठबन्धन भत्किए आफूहरुले एमसीसी र सदन खुलाउनेबारे निर्णय लिन सजिलो हुने बताए। अध्यक्ष ओलीसँग प्रधानमन्त्री देउवाको यही विषयमा कुराकानी भएको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell