PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ए डिभिजन लिगको एघारौँ चरण : च्याम्पियन बनेर मछिन्द्र मक्ख, मनाङलाई धक्कैधक्का



मुकुन्द घिमिरे

ए डिभिजन लिगको एघारौँ चरण : च्याम्पियन बनेर मछिन्द्र मक्ख, मनाङलाई धक्कैधक्का

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगको एघारौँ चरण सकिँदा लिगको च्याम्पियन पनि निश्चित भएको छ। यो चरणमा आइपुग्दा दुई खेल बाँकी रहँदै मछिन्द्र क्लबले लिगको उपाधि जित्न सफल भयो। च्याम्पियन मछिन्द्रले २९ अंक जोड्दा दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको २० अंकमात्र छ।

मनाङको 'दूर्भाग्य', रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको विभागीय टोली एपीएफसँग एक महिना नबित्दै दुईपटक पराजय बेहोर्नुपर्‍यो। र, एपीएफले मनाङलाई हराएर रेलिगेशन क्षेत्रबाट माथि उठ्यो। के के भए एघारौं चरणमा?

मछिन्द्र च्याम्पियन
मछिन्द्र क्लबसँग खेल्नुअघि छैटौँ स्थानमा रहेको सातदोबाटो युथ क्लबले आफूभन्दा अघिका र मछिन्द्रभन्दा पछिका कुनै टोलीसँग पराजय बेहोरेको थिएन। अर्थात् सातदोबाटो लिगको 'जायन्ट किलर' टोलीका रुपमा अघि बढेको थियो। मछिन्द्रसँगको नतिजा पनि त्यस्तै होला कि भन्ने ठाउँ धेरै थिए। तर सातदोबाटोलाई मछिन्द्रले हरायो। तर एकदम संघर्षपूर्ण जित १-० गोलअन्तरको। र, मछिन्द्र दुई खेल अगावै लिगको च्याम्पियन बन्यो।

मछिन्द्र क्लबलाई लगातार दुई पटक लिग च्याम्पियन बनाएका प्रवेश कटुवालले योजना अनुसार नै जित निकालेको बताए। 'दुई खेल अगावै च्याम्पियन बन्यो। टप सेभेनमा च्याम्पियन हुने टिम एएफसीमा भन्ने थियो। त्यहाँ टपमा भयौं भने लिगमा जित्छौं भन्ने थियो,' उनले भने।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठ मछिन्द्र च्याम्पियन बन्नुको पछाडि टिमको एकता सबैभन्दा महत्वपूर्ण देख्छन्। 'लिगमा पहिला धेरै खेलेको छु। तर यस्तो एकजुट महसुस गरेको छैन। यसपाली स्ट्रङ प्वाइन्ट त्यो हो। रिजल्ट पनि त्यही अनुसार भयो,' उनले भने।

प्रशिक्षक कटुवालले अगाडिको लक्ष्य एएफसी कप भएको भन्दै त्यसमा केन्द्रित हुने बताए।

मनाङको पीडा
सातौँ चरणमा लिगको शीर्ष स्थानमा रहने टोलीले एएफसी छनोट खेल्न पाउने एन्फाले जनाउँदा यसको होडमा सबैभन्दा अघि थिए, मनाङ र मछिन्द्र क्लब। केही चरणसम्म त्रिभुवन आर्मी क्लबले दाबेदारी दिए तापनि लिगभर आर्मीलाई चोटले छाडेन। सातौँ चरणसम्म कडा प्रतिस्पर्धा मनाङ र मछिन्द्रबीच चल्यो।

मनाङ र मछिन्द्रबीचको खेललाई 'लिगको ट्रनिङ प्वाइन्ट' भनेर मान्छन्, मछिन्द्रका प्रशिक्षक कटुवाल। जहाँ मछिन्द्रले मनाङमाथि १-० गोल अन्तरले संघर्षपूर्ण जित निकाल्यो। त्यसपछि मछिन्द्र अघि बढिरह्यो र मनाङलाई धक्का लागिरह्यो। सातदोबाटोसँगको हार, थ्री स्टारसँगको बराबरी र एपीएफसँगको पराजयले मनाङको छवि धमिलो पारिदियो।

एपीएफसँगको पराजयपछि मनाङका प्रशिक्षक टोफे फुजाले भनिदिए, 'यो मनाङ, मनाङ होइन।' 

उनले टिममा अनुशासनदेखि लिएर धेरै कुरा रहेको जुन सबै प्रेससामु भन्न चाहेको बताएका थिए।

मनाङबाट खेलिसकेका एपीएफका प्रशिक्षक कुमार थापाले पनि मनाङ मनाङ जस्तो नदेखिएको स्वीकारे। 'मनाङ त जहिलै राम्रो टोली। मनाङलाई घाटा भएन। रिजल्ट हेर्ने हो भने देखिएन मनाङ जस्तो,' उनले अगाडि भने, 'मनाङले मेहेनत गर्नुपर्छ। सोच्नुपर्छ। हामीलाई हारे पनि पीडा हुने थिएन। मनाङलाई पीडा भयो।'

पुनरागमन एपीएफको
लिगमा पुनरागमन गर्ने टोलीमध्ये सबैभन्दा अघि नाम लिन सकिन्छ विभागीय टोली एपीएफको।

लिगको सुरुवातका दुई खेल गुमाएपछि प्रशिक्षक थापाले विदेशी खेलाडीबिना खेल्न कठिन भएको प्रतिक्रिया दिएका थिए। त्यतिबेला उनले क्लबमा विदेशी खेलाडी भित्र्याउन कुरा गरेको बताएका थिए। पछि भयो पनि। त्यस्तै लगातार रेलिगेसन क्षेत्रमा रहेपछि विदशी खेलाडी एपीएफले भित्र्याएरै छाड्यो।

पाँचौ चरणमा आएर फ्रेन्डस् क्लबविरुद्धको खेलमा एपीएफले पहिलोपटक विदेशी खेलाडी उतार्‍यो। चोटबाट गुज्रिरहेको एपीएफमा गोलकिपर सबै घाइते हुँदा कठिन भइरहेको थियो। यस्तोमा युरा कुरियामालाई गोलकिपरका रुपमा उतारेको एपीएफले जारी लिगमा पहिलो जित पनि निकालेको थियो। त्यसपछिको खेलमा अर्का विदेशी खेलाडीलाई पनि एपीएफले थप्यो। उनी हुन्, अडम डौम्बिया। नेपालमा बसेर व्यावसायिक फुटबल खेल्दै आएका उनी एपीएफबाट खेल्ने दोस्रो विदेशी खेलाडी बने।

त्यसपछि एपीएफ अघि बढ्यो। उक्त खेलमा एपीएफले एनआरटीसँग ३-३ गोलको बराबरी खेलेको थियो। त्यसपछि आर्मीसँग बराबरी खेलेको एपीएफले जावलाखेलसँग बराबरी खेल्यो र अर्को खेलमा हिमालयन शेर्पा क्लबलाई हराइदियो। त्यस्तै दशौँ चरणमा संकटा क्लबसँग बराबरीमा रोकिएको एपीएफले एघारौँ चरणमा मनाङमाथि ३-१ को सानदार जित निकाल्यो।

'फुटबलमा चेन्ज गर्नुपर्छ। हामीलाई धेरै दबाब थियो। तर आत्तिएनौँ। खेलाडी पनि विचलित भएनन्। त्यसैले कमब्याक गर्‍यौँ। योसम्म आउन खेलाडीको मेहनत हो,' उनले अगाडि भने, 'विदेशी प्लेयर ल्याएको पनि सकारात्मक भयो। सब्सिच्युटले पनि राम्रो भूमिका खेले। पहिलो तीन म्याच र अहिलेको टिममा धेरै फरक छ। हामी रेलिगेशनबाट बच्दैनौँ भन्ने धेरैलाई लागेको थियो।'

यसबीचमा एपीएफमा आहा रारा गोल्डकपको उपाधि जित्यो। यसले सकारात्मक ऊर्जा भरेको बताउँछन् प्रशिक थापा।

'आहा रारा खेलेपछि खेलाडी कन्फिडेन्ट थिए। यतिको टिमलाई हराउनु धेरै राम्रो हो। पछि परेर पनि कमब्याक भएर गोल गर्‍यौं। जित्यौ पनि,' उनले भने, 'रेलिगेशन टर्‍यो यो वर्ष। फुटबल भनेको राइट नाउ हो, अहिले हामीले नतिजा ल्यायौं। पाँच वटा लिगमा मनाङलाई जितेका थिएनौँ।'

रेलिगेशन क्षेत्रका कुरा
एघारौँ चरणको पहिलो खेललाई रेलिगेशन ब्याटलका रुपमा हेरिएको थियो। कारण उक्त दिन पुछारका चार टोलीबीच खेल हुँदै थियो। तर दुवै खेल बराबरीमा रोकियो र चारवटै टोलीले एकएक अंक बाँडे। उक्त खेलमा जित निकाल्ने टोलीलाई ठूलो राहत मिल्ने अवस्था भएको भए पनि चारवटै टोली यसमा असफल रहे। उक्त खेलपछि ११औँ स्थानमा रहेको जावलाखेलले १० अंक, १२औँ स्थानमा रहेको फ्रेन्ड्स क्लब र १३औँ स्थानमा रहेको ब्रिगेड ब्वाइजले समान ७ अंक जोड्दा तालिकाको पुछारमा रहेको च्यासलले ६ अंक जोडेको छ। त्यसबाहेक नवौँ स्थानमा रहेको हिमालयन शेर्पा क्लब र दशौँ स्थानमा रहेको नेपाल पुलिस क्लब पनि रेलिगेशनको जोखिमबाट बाहिरिसकेका छैनन्।

प्रशिक्षकहरुलाई पनि रेलिगेशनको दबाब बढेको छ।

‘म अलि खुशी छैन। हामीले बल कन्ट्रोल गर्न सकेनौँ, जसरी मछिन्द्रसँग सकेका थियौँ’, च्यासलका प्रशिक्षक लेइज मनसनले भने, ‘फ्रेन्ड्सले पनि ड्र खेलेको छ। अर्को खेलमा हामी उनीहरुसँग खेल्नेछौँ। खेल सुधारेर ए डिभिजनमा रहन चाहन्छौँ। अझै हाम्रो हातमा छ। हामीले फ्रेन्ड्स क्लबलाई हरायौँ भने माथि जान्छौँ।’

उता ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले रेलिगेशनबारे यसै भन्न सक्ने अवस्था नभएको बताए। ‘आजको म्याचमा ३ अंकको लक्ष्य थियो। ड्र हुन पुग्यो। रेलिगेशनको रेड जोनमै छौँ’, उनले रेलिगेशनको सम्भावनाबारे भने, ‘पछिल्लो म्याच फ्रेन्ड्स क्लबसँग राम्रो भएको भए बच्ने सम्भावना धेरै थियो। आज जितेको भए अलि सजिलो हुने थियो। जे पनि हुन सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell