PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

राष्ट्रपतिको सन्देश : 'प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ'



पहिलोपोस्ट

राष्ट्रपतिको सन्देश : 'प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ'

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मानेको उल्लेख गरेकी छन्।

'लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन। राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ,' सन्देशमा भनिएको छ, 'जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ। र, अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवन पद्धति बन्न सक्दछ।'

उनले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने उल्लेख गरेकी छन्। सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर सङ्घर्षकै प्रतिफलस्वरूप आज लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उनको भनाइ छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न दिवसले अभिप्रेरित गर्ने अपेक्षा राष्ट्रपतिले गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell